बिर्तामोड । इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा एकजना थुनुवा बालकको शंकास्पद मृत्यु भएको छ । पक्राउ पर्दा बेवारिसे बालक भनेको प्रहरीले मृत्यु भएपछि आफन्त बोलाएर शव जिम्मा लगाएको घटना सार्वजनिक भएको छ ।

बिर्तामोड प्रहरीले मेचीनगर ६ का १५ बर्षीय किरण कार्कीढोलीलाई मोवाइल चोरीको अभियोगमा चैत २९ गते बेलुका बिर्तामोडबाट पक्राउ गरेको थियो । पक्राउपछि हिरासतमा राखेर ‘अनुसंधान’ गर्दै गरेको अवस्थामा बैशाख २ गते राती उनको हिरासतभित्रैको बाथरुममा झुण्डिएको अवस्थामा शव फेला परेको झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।

‘शुरुमा भारतीय नागरिक हो भन्ने सुचना आएको थियो, श्रेष्ठले भने–‘आफन्त नभेटेपछि बेवारिसे मुचुल्का बनाएर पोष्टमार्टमका लागि ल्याएपछि उनको घर काँकडभिट्टामा भएको पत्ता लागेको हो ।’ बाथरुपको धाराको टुटीमा आफुले लगाउदै आएको कपडाको पासो लगाएर  झुण्डिएकाे अवस्थामा शव फेला परेको थियो । घर पत्ता लागेपछि मृतकका बाबु रमेश कार्कीढोलीलाई ल्याएर सनाखत गर्न लगाएको उनले बताए ।

कक्षा ५ मा अध्ययनरत कार्कीढोलीको मृत्युपछि प्रहरीले उठाएको मुचुल्कामा मृतक कार्कीढोलीको उमेर १९ बर्ष पुगेको उल्लेख छ । तर, बाबु रमेशले मृतक कार्कीढोली १५ बर्षमात्र पुगेको जानकारी दिए । ‘चैत ९ गते १५ पुगेर १६ लागेको हो, रमेशले भने । बालकलाई पक्राउ गरेपछि अरु वयस्कहरुसँगै हिरासतमा राख्न नमिल्ने कानुन रहेको अधिकारकर्मी अर्जुन बस्नेतले जानकारी दिए । यद्यपी बिर्तामोड प्रहरीले उनलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखेको थियो ।

बाबु रमेशले काँकडभिट्टाबाट आफुलाई प्रहरीले उसैको गाडीमा लगेर छोराको शव जिम्मा लगाएको बताए । उनले घरबाट हराएको छोरा एक्कासी मृत्यू भएको अवस्थामा भेटेपछि प्रहरीले भनेको ठाँउमा हस्ताक्षर गरेर शव बुझेको सुनाए । अञ्चल अस्पताल भद्रपुरबाट शव बुझेर परिवारले अन्तेष्टी गरेको छ ।

प्रहरीले २ गते राती २ बजे हिरासत भित्र रहेको बाथरुममा झुण्डिएर मृत्यु भएको जनाएको छ । २ गते अपराह्न आफन्त बोलाएर शव जिम्मा लगाइएको थियो । बाबु रमेशले प्रहरीले आफुलाई खवर नगरी पोष्टमार्टम गर्न लगेपछि बालकको मृत्युको बारेमा शंका उत्पन्न भएको परिवारको आरोप छ ।

घटनाबारे जानकारी लिन फोन गर्दा बिर्तामोडका डिएसपी सुवास खड्काले केही बताउन नमिल्ने भन्दै बोल्न चाहेनन् । उनले जिल्लाका सुचना एकद्धारबाट पत्रकारलाई उपलब्ध गराउने झापा प्रहरीको नीति भएको सम्झाउदै भने–‘सबै कुरा प्रवक्ताबाट लिनुस, मलाई फोन गर्ने काम छैन ।’

बालकलाई पक्राउपछि प्रहरीले अदालतबाट म्याद थप समेत नगरेको पाइएको छ । सामान्यतया पक्राउपछि २४ घण्टाभित्रमा अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसंधान गर्नुपर्छ । तर, प्रहरीले कार्कीढोलीको मृत्यु केसमा कुनै कानुनी प्रक्रिया समेत पुरा नगरेको पाइएको छ ।

झापा प्रहरीका प्रवक्ता श्रेष्ठले सार्वजनिक बिदाका कारण म्याद थप गर्न नसकिएको बताएका छन् । तर, फोनबाट भएपनि हिरासतमा राख्न न्यायधिसबाट अनुमति लिएको हुनुपर्ने अधिकारकर्मी बस्नेत बताउँछन् ।

झापा प्रहरीले घटनाको छानविनका लागि जिल्ला प्रहरीका प्रवक्ता श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिले शुक्रबारदेखि छानविन थाल्ने श्रेष्ठले जानकारी दिए ।