धरान/ नेपालकी ट्रान्सजेण्डर मोडल अञ्जली लामाले भारतको मोडलिङ क्षेत्रमा चर्चा कमाइरहेकी छन् । आफूलाई मोडलिङमा स्थापित गर्न उनले निक्कै ठूलो सङ्घर्ष गरेकी छन् ।
भारतको प्रसिद्ध फेसन सप्ताह ‘ल्याक्मे फेसन विक’ मा सहभागी हुने अवसर पाएपछि नेपालकी ट्रान्सजेण्डर मोडल अञ्जली लामा एकाएक चर्चामा आइन् ।
सामान्य किसान परिवारमा जन्मिएकी अञ्जली बलिउडका दीपिका पादुकोण, मलाइका अरोरा, अर्जुन रामपालजस्ता स्टारहरूले बलिउड यात्रा शुरु गरेको प्लेटफर्ममा उभिन पुग्नु असामान्य थियो ।
‘ल्याक्मे फेसन विक’ को अडिसनमा विभिन्न देशका करिब तीन सय जना मोडलबीच प्रतिस्पर्धा हुन्छ । त्यसमध्ये ‘अन द स्पट’ पाँच जना नयाँ मोडल छानिन्छन् । त्यो कडा प्रतिस्पर्धामा छनोट भएपछि अञ्जली चर्चाको शिखरमा पुगिन् । फेसन विकको १८ वर्षे इतिहासमा र्याम्पवाक गर्ने अञ्जली पहिलो ट्रान्सजेण्डर मोडल पनि बनिन् । उनी भन्छिन्, ‘शुरुमा त मलाई थाहा थिएन तर पछि थाहा पाउँदा म नै पहिलो रहेछु ।’
भारतीय म्यागजिन ‘इण्डिया टुडे’ देखि चर्चित फेसन म्यागजिन ‘एले’ को डिजिटल कभरमा छाएकी अञ्जलीका बारेमा सीएनएन, वासिङ्टन पोष्ट, युके डेलिमेलदेखि फ्रान्स, स्पेन लगायतका मिडियाले चर्चा गरे । बीबीसीले त अञ्जलीबारे डकुमेन्ट्री नै बनायो ।
तर, अञ्जली सानो दुःख र थोरै सङ्घर्षले यहाँसम्म आइपुगेकी होइनन् ।
सन् २००९ मा ‘भाउ’ म्यागजिनमा फोटो सुट गरेर मोडलिङ शुरु गरेकी उनले सन् २०१६ सम्म नेपालकै विभिन्न फेसन शोमा क्याटवाक गरिन् । नेपाल फेसन विकमा तीन पटक भिड्दा पनि छनोट हुन नसकेकी अञ्जलीले हरेस खाइनन् । ‘तेस्रोलिङ्गी भएकै कारण मलाई उपेक्षा गरियो’ –उनी भन्छिन् ।
त्यसपछि उनी ल्याक्मे फेसन विकका लागि भारत पुगिन् । तर, त्यहाँ पनि दुई पटक असफल भइन् । आफूमा भएका कमजोरी सुधार गर्दै तेस्रो पटक भिडेकी उनी सफल भइन् । ब्लु डायमण्ड सोसाइटीको जागिर छाडेर मोडलिङ करिअरका लागि मुम्बई गएकी उनी अहिले उतै व्यस्त छिन् । र्याम्प, विज्ञापनलगायतमा मोडलिङ गरिरहेकी अञ्जली भन्छिन्, ‘मेरो सपना पूरा हुन अझै बाँकी छ । अन्तर्राष्ट्रिय रूपमा स्थापित मोडल बन्ने लक्ष्य छ ।’
नुवाकोटमा जन्मिएकी अञ्जलीको शुरुको नाम नवीन वाइबा थियो । शारीरिक रूपमा पुरुष भए पनि उनलाई सानैदेखि केटीका लुगा लगाउन मन लाग्थ्यो । विस्तारै उनलाई आफू ‘छोरी मान्छे हुँ’ जस्तो लाग्न थाल्यो । १९ वर्षको उमेरमा उनी नवीनबाट अञ्जली बनिन् । गाउँमा एसएलसी दिएर काठमाडौँ आएपछि उनलाई सबैले ‘मोडल जस्तो छ’ भन्थे । त्यसपछि उनलाई पनि मोडलिङमा रुचि बढ्दै गयो । अहिले उनी आफ्नो बेग्लै पहिचान बनाउन सफल भइन्, मोडलिङमा हिट भइन् ।
उनले पनि अन्य तेस्रोलिङ्गी जस्तै परिवार र समाजबाट धेरै विभेद र अपमान बेहोरिन् । उनी भन्छिन्, ‘समाजबाट हदैसम्म अपमानित भएँ । बाटो हिँड्दा हाँसोको पात्र बनेँ । तर, मैले हिम्मत हारिनँ । हिम्मतले नै मलाई यहाँसम्म ल्याइपुर्यायो ।’