धरान/ धरानकी पुष्पकला फोम्बोले ‘मिसेस स्टेट १’ को दोस्रो संस्करणको ताज जितेकी छन् ।
धरान सभागृहमा शुक्रबार राति भएको प्रतिस्पर्धामा मुख्य निर्णायक मिस नेपाल २०१३ इसानी श्रेष्ठले सोधेको ‘तपाई एक विवाहित नारी भएर नेपाली समाजमा के परिवर्तन ल्याउन सक्नुहुन्छ ? जुन अविवाहित नारीले गर्न सक्नुहुन्न ?’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै विजेता बनेकी पुष्पकलाले ताजसहित नगद १ लाख हातपारिन् । प्रतिस्पर्धामा मिसेस फोटोजेनिक पनि उनै घोषित भइन् ।
वुमन वर्थ गु्रपले आयोजना गरेको प्रतिस्पर्धामा इटहरीकी ज्योति झा फस्ट रनरअप बनेर नगद ५० हजार र धरानकी रोश्नी राई सेकेण्ड रनर अप बनेर नगद २५ हजारसहित ताज जिते । ज्योतिले बेस्ट ड्रेस र मिसेस ब्युटिफुल टाइटल जित्दा रोश्नीले बेस्ट हस्पिटालिटीको टाइटल पाइन् ।
प्रतिस्पर्धामा बेस्ट फ्रेण्डसिप सोनु राई, बेस्ट क्याटवाक क्युसा राई, बेस्ट स्माइल मन्दिरा भुजेल, बेस्ट डिसिप्लिन नम्रता तामाङ, बेस्ट पर्सनालिटी सरला लकान्द्री, बेस्ट पोलाइट सरस्वती सुयल, बेस्ट ट्यालेन्ट पूजा आङ्देम्बे घोषित भए । नम्रता तामाङ मिसेस भ्यूवर च्वाइस घोषित भएर नगद ५ हजार पाइन् ।
विजेताहरूलाई धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदी, मिस नेपाल २०१३ की इसानी श्रेष्ठ, वुमन ग्रुपकी अध्यक्ष सुजता श्रेष्ठलगायतले ताज लगाउँदै पुरस्कार वितरण गरे ।
































