धरान । धरानकी पुष्पकला फोम्बोले मिसेस स्टेट दोस्रो संस्करणको ताज तिजेकी छन् ।

धरान–८ सभागृहमा शुक्रबार राति सम्पन्न स्पर्धामा उनले प्रमुख निर्णायक मिस नेपाल इसानी श्रेष्ठले 'तपाईं एक विवाहिता नारी भएर हाम्रो नेपाली समाजमा के परिवर्तन ल्याउनुहुन्छ जुन अविवाहित नारीले गर्न सक्नु हुन्न ?' भन्ने प्रश्नको सटिक जवाफ दिँदै ताज जितेकी हुन् । उनले ताजसहित नगद १ लाख रुपैयाँ, गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । त्यस्तै इटहरीकी ज्योती झा फस्ट रनरअप बनिन् भने धरानकी रोशनी राई सेकेण्ड रनरअप बनेकी छन् ।

उनीहरूले क्रमशः नगद ५० हजार र २५ हजार रुपैयाँसहित ताज प्राप्त गरेका छन् । विजेता फोम्बोलाई पहिलो मिसेस स्टेटकी सम्झना घतानीले ताज पहिर्याएकी थिइन् । वुमन वर्थ ग्रुपको आयोजनामा माघ १९ गतेदेखि जारी प्रतियोगितामा १६ जना प्रतिस्पर्धीले स्पर्धा गरेका थिए ।

उनीहरूलाई तीन साताको बन्द प्रशिक्षणपछि फाइलन राउण्डमा उतारिएको थियो । विजेतालाई धरान उपमहानगरकी कार्यबाहक प्रमुख मञ्जु भण्डारी सुवेदी, प्रमुख निर्णायक इसानी श्रेष्ठ, आयोजककी अध्यक्ष सुजता श्रेष्ठलगायतले ताजलगायत पहिर्याएका थिए । त्यस्तै १२ जनालाई व्यक्तिगत टाइटल प्रदान गरिएको थियो ।