धरान/ कलाकार सृजना सुब्बा रङ्गमञ्चमा चर्चित छिन् । फिल्ममा पनि उनको अभिनय दमदार छ । उनले अभिनय गरेको फिल्म डाइङ क्यान्डलले लगातार अवार्ड जितिरहेको छ । उनले अभिनय गरेका अन्य फिल्मले पनि दर्शकमाझ राम्रो छाप छोडेका छन् ।
 
फिल्मका दर्शकले उनलाई नामभन्दा बढी क्यारेक्टरले चिन्छन् । ‘कबड्डी कबड्डी’ की सोल्टिनी, ‘लुट’ की पुतली बनेर उनी दर्शकको मनमा बस्न सफल छिन् । 
 
माइला डटकम, डिग्री माइला, चरनदास चोर, एन्टिगोनी जस्ता नाटकमा सशक्त अभिनय गरेकी सृजनाले युग पाठकको नाटक ‘युमा’ को निर्देशन गरिन् । युमामा उनकै मुख्य भूमिका थियो । नाटक दर्शकले खुब मन पराए । उनलाई फिल्मका दर्शकले सोल्टिनी र नाटकका दर्शकले एन्टिगोनी भनेर बढी चिन्छन् । उनी भन्छिन्, ‘मलाई नामभन्दा क्यारेक्टरले चिनिएको मन पर्छ । किनकी क्यारेक्टर कामले चिनिने हो ।’
 
मोरङबाट हिरोइन बन्ने सपना देखेर काठमाडौं पुगेकी सृजनाले विभिन्न नाटक र फिल्महरूबाट उत्कृष्ट अभिनेतृको अवार्ड जितिन् । अवार्ड जित्ने क्रम अझै जारी छ । सृजना, दयाहाङ राई र राजन खतिवडाले मिलेर शुरु गरेको मण्डला थिएटरले राम्रा कलाकार उत्पादन गरिरहेको छ । 
 
सृजना महिलाका विषयहरू अलि राम्रोसँग रङ्गमञ्चमा उतार्ने योजनामा छिन् । लेखेर र नाटकमार्फत् महिलाका संवेदनशील मुद्दाहरू समाजलाई बुझाउने योजना छ उनको । सृजनाको अभिनय हेरेर धेरैले ‘केटीको जस्तो रोल भएन, अलि स्ट्रङ र घमण्डी भयो’ भनेर कमेन्ट गर्छन् रे ।
 
तर उनलाई चलचित्रमा अझै स्ट्रङ खेलाडी भएर अभिनय गर्ने मन छ । राजनीतिज्ञ भएर अभिनय गर्ने रहर छ । उनी भन्छिन्, ‘केटीहरू चाहिँ सधैँ कोमल, भावुक, सहनशील मात्र हुनुपर्ने, पुरुषको सहायक मात्र हुनुपर्ने भन्ने मानसिकता छ ।’