काठमाण्डौ/ चैत १ गतेबाट प्रदर्शनमा आउन लागेको नेपालमा पहिलो अङ्ग्रेजी र नेपाली दुवै भाषामा निर्मित फिल्म ‘द म्यान फ्रम काठमाडौं’ को शीर्ष गीत इन्टरनेट रिलिज भएको छ । १९७४ एडी ब्याण्डले तयार पारेको ‘काठमाडौं’ बोलको गीतमा रोहितजङ क्षेत्रीको शब्द, सङ्गीत तथा स्वर रहेको छ । गीतले राजधानीको कथा–व्यथा बोलेको छ । 
 
सार्वजनिक गीतमा फिल्मका लिड कलाकारहरूसँगै ब्याण्डका सदस्यहरूलाई पनि स्थान दिइएको छ । कार्लोस मेडिनाको छायाङ्कन रहेको फिल्मलाई पेमा धोन्डुपले निर्देशन गरेका हुन् । नेपाल र अमेरिकामा फिल्म खिचिएको हो । क्यूएफएक्स सिनेमाज् प्रमुख नकिम उद्दीनले फिल्म निर्माण गरेका हुन् ।
 
फिल्ममा अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरू आना शर्मा, कर्मा शाक्य, नीर शाह, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतमलगायतको अभिनय छ । यो फिल्मलाई नेपालमा प्रदर्शनलगत्तै अन्तर्राष्ट्रिय प्रदर्शन पनि गर्ने निर्माण टिमको तयारी छ । 
 
नेपाली फिल्मले अन्तर्राष्ट्रिय मार्केटमा स्थान पाउनुपर्छ भन्ने सोचले यो फिल्म बनाएकोे निर्माता उद्दीन बताउँछन् । एक्सन(लभस्टोरी जनरामा निर्माण भएको फिल्मले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ ।