धरान  / महिलालाई दुव्यवहार गरेको आरोपमा  प्रहरी नियन्त्रणमा  रहेका किरात थाक्थुङ चुम्लुङ धरान नगर समितिका अध्यक्ष सुवास हुक्पाचोङवाङ(लिम्बु) सहमतिमा छुटेका छन् ।
पीडित भनिएकी महिला बर्षा श्रेष्ठसँग मिलापत्र भएपछि प्रहरीले उनलाई छाडेको हो । चासोक तङनाम साँस्कृतिक उत्सव समापन भएपछि बुधबार बिहान उनी धरान १५ स्थित चुम्लुङ हिमबाट पक्राउ परेका थिए ।
उत्सवमा स्टल राखेकी श्रेष्ठसँग विवाद भएपछि उनको श्रीमान्लाई हातपात गरेको आरोप थियो । यस्तै, प्रहरीसँग पनि दुव्यवहार गरेको आरोपमा अध्यक्ष चोङवाङ पक्राउ परेका थिए । उनीविरुद्ध पीडित भनिएकी श्रेष्ठले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

दिउँसो चुम्लुङ नेतृत्वसहित बुद्धिजिविहरुको पहलमा मिलापत्र भएको थियो । विहानै जाहेरी समेत दिएकी श्रेष्ठले माफि दिएर जाहेरी फिर्ता लिए पछि उनी छुटेका हुन । उजुरीकर्ताले आफसी समझदारीमा जाहेरी फिर्ता लिन निवेदन दिएर फिर्ता लिए पछि छाडिएको डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । उनलाई विहान ८ बजे प्रहरीले नियन्त्रणमा लिएको थियो । ४ बजे सहमति पछि छुटेका छन् ।