आजबाट १६ दिने महिला हिंसाविरुद्धको अभियान प्रारम्भ भएको छ । ठिक यही बेला हामी एउटा यस्तो कहाली लाग्दो घटनाबाट गुज्रिरहेका छौं । जसको न्याय हाम्रो लागि भारी परिरहेको छ । हो, कञ्चनपुरकी निर्मला पन्त हत्याकाण्डको गुत्थी सुल्झिन सकेको छैन । यही पेरिफेरिमा हामी १६ दिने अभियान हाेमिएका छाैं । यो अभियान निर्मला जस्ताका लागि व्यङ्ग्यात्मक बन्दै छ । निर्मलाका परिवारको लागि प्रश्नैप्रश्नले जेलिएको अभियान बन्दै छ ।

चार महिनाको अवधिमा निर्मलाको परिवारले न्याय पाउनु त कता–कता ? उल्टै परिवार मानसिक अवस्थाबाट गुज्रिदै छ । निर्मलाका बुबा यज्ञराज पन्त न्यायका लागि अनिश्चितकालीन धर्नामा बसिरहेकै बेला स्वास्थ्यस्थिति बिग्रदो छ । उनलाई मानसिक समस्या भएको अनुमान गर्दै उपचारका लागि काठमाडौं ल्याइएको छ । ठिक यही बेला महिला हिंसाविरुद्धको दिवस चल्दै छ । यो दिवस निर्मला जस्ता न्याय नपाएका महिलाहरूको लागि हो । यो अभियान मात्रै हैन, हिंसाका पृष्ठपोषकहरूलाई कठघरामा उभ्याउने बेला हो ।

तर, निर्मलाका पिता यज्ञराजले यस्तो सुन्दर कल्पना गर्न सक्लान् ? निर्मलाजस्ता सयौं हिंसामा परेका पीडित परिवारले न्यायको अनुभूति गरिरहेका होलान् ? विचारणीय छ । स्मरणीय छ । हामी कस्तो न्यायको पक्षमा छौं । हामी न्यायको कुरा गरिरहदा यही वर्षको भदौं १ गतेदेखि पुरानो मुलुकी ऐन परिवर्तन गरी नयाँ मुलुकी ऐन अर्थात अपराध संहिता ल्याएका छौं । यसले अपराधको परिभाषा मात्रै परिवर्तन गरेको छैन, यसले अपराधीलाई दिइने सजाय पनि परिवर्तन गरेको छ ।

तर, यही बेला निर्मला पन्तका अभिभावकहरू न्यायका लागि सडकमा छन् । मौसम दिनानुदिन बदलिदै छ । अर्थात् जमिन चिसिदै छ । तर, निर्मलाका बाबुआमा र पीडित परिवारको छाती रापिदै छ । बल्दै छ । न्यायका लागि प्रत्येक दिन उनीहरू तड्पिदै छन् । महिला हिंसाविरुद्धको अभियानले के हाम्रा समाजिक संरचनाहरू भत्काउदै छन् त ? महिला हिंसा हुनुमा हाम्रो समाजिक संरचना पनि दोषी छ । जस्तैः एउटा सासुले बुहारी गर्नेमाथिको व्यवहार । तराई मुलमा दाइजो प्रथा । पश्चिम नेपालमा गरिने छाउगोठ प्रथा । यस्ता प्रथाहरूका कारण पनि हाम्रो समाजमा हिंसाले प्रश्रय पाइरहेको छ । के यस्ता सामाजिक संरचना भत्काउन यस्ता अभियान सफल भइरहेका छन् त ?

यस्ता विविध प्रश्नले अभियान चलाउने अधिकारकर्मीलाई घेरिरहेको छ । अभियानले साच्चै हिंसा अन्त्य भएको छ त ? प्रहरीको तथ्याङ्क हेर्ने हो भने अपराध हरेक वर्ष वृद्धि भइरहेको छ । अपराधका ‘प्यार्टन’ हरू परिवर्तन भएको देखाउछ । पछिल्लो ५ वर्षको तथ्याङ्क केलाउदा महिला तथा बालबालिकासम्बन्धी घटनाहरू वृद्धि भएको देखाउछ । आर्थिक वर्ष २०७४÷०७५ मा ३ हजार २ सय ५५ वटा भएको देखाउछ । जुन, अघिल्लो आर्थिक वर्षको भन्दा ८१६ बढी हो । हरेक वर्ष यस्ता अपराधहरू बढ्नु आफैमा पनि राम्रो होइन ।

यो तथ्याङ्कले पनि अभियानको सार्थकता कति छ भन्ने तथ्यमा देखाउछ । अभियानका लागि अभियान मात्रै हैन, हामीलाई अभियानमात्रै हैन, त्यसबाट नतिजा चाहिएको छ । हामीलाई भावनामा हैन, गणितको हिसाव झैं २ दुई ४ चाहिएको छ । अहिले निर्मला पन्तका अभिभावकले यही खोजिरहेका छन् । भावनाको कुरा न त निर्मलाका बुबालाई पाच्य छ । न त कानून भएको देशलाई नै । कानूनले कानूनी कुरा गर्छ । त्यो विज्ञान सम्मत हुन्छ । त्यही अपेक्षामा अभियानअघि बढोस् । यज्ञराजजस्ता सयौं पीडित अभिभावकले न्यायका लागि सडकमा उत्रिनु नपरोस् । १६ दिने अभियानको यही शुभकामना छ ।