६–७ वर्षको हुनुपर्छ त्यो बेलामा म मावलीमै बस्थे । धरान–३ गउँधारा अगाडि मामा श्रीकृष्णमान श्रेष्ठ पलिखेको घर थियो । उमेरले मभन्दा मामा ४–५ वर्ष जेठो हुनुहुन्थ्यो । मेरो गाइड भने पनि अग्रज भने पनि उहाँ नै हो । अहिले जहाँ वडा प्रहरी कार्यालय छ । त्यहीँ एउटा पाठशाला थियो । त्यही पाठशालामा म, मामा, मामाका साथीहरू र मेरा साथीहरू पढ्न जान्थ्यौं । त्यो बेला अहिलेको जस्तो कपीकलम थिएन । कालोपाटी हुन्थ्यो । त्यसैलाई रङ्ग्याएर हामी पाठशाला पुग्थ्यौं । कालो पाटीमा लेख्न चक हुन्थ्यो । त्यसले गर्दा हरेक दिन हाम्रो लुगा चक र पाटीको रङ्गका कारण धुलोमैलो र रङ्ग पोतिएको हुन्थ्यो । दिनहु लुगा धुनुपथ्र्यो । बेलुका ४ बजे फर्किदा लुगा हेर्नै नहुने हुन्थ्यो । त्यही पाठशालामा नै क ख ग घ, १, २, ३, ४ र गुणनहरू सिक्थ्यौं ।
भारतबाट आउनु भएको एकजना झा सर हुनुहुन्थ्यो । अहिले मैले नाम बिर्सिए । उहाँले यी सबै पढाउनुहुन्थ्यो । हरेक दिन घोकेर वा होमवर्क भनौं त्यही हुन्थ्यो । आएन भने वेतको लौरी हुन्थ्यो । त्यही लौरीले उमेरअनुसार हात थाप भन्दै कुट्ने गर्नुहुन्थ्यो । मैले पनि दुईचारपटक कुटाइ खाए होला । अहिले स्मरणमा छैन । ठूलालाई कुट्दा ठूलो आवाज आउथ्यो । सानोलाई कुट्दा सानो आवाज आउथ्यो । सायद उमेरअनुसारको कुटाइ हुन्थ्यो होला । त्यही डरले हामी दैनिक घोकेर जान्थ्यौं । तीन–चार कक्षासम्म कालोपाटी नै चलायौं । त्यसपछि मात्रै पेन्सिल चलायौं होला ।
म स्कुल, दुई वटा कारणले जान लागे । एउटा कारण मामा र अर्को खेल्ने साथी नभएर । मेरो मामाले पनि क, ख पढाउनुहुन्थ्यो । तर उहाँले नकुट्ने । अर्को कारण मेरो साथीहरूसँग मेरो भेट नै हुदैनथियो । उनीहरू सबै स्कुल जान्थे, वा मजस्तै लुक्थे । दिनभरी उनीहरूसँग भेट हुदैनथ्यो । त्यही बाध्यताले पनि स्कुल गइयो । दुई चारपटक त म पनि लुके । तर, लुकेर धर थिएन । जानै पथ्र्यो । अरू गएको देखेर स्कुल जान्थ्यौं । छुट्टि भएका दिन एकदमै खुसी हुन्थ्यौं । मेरो उमेरमा मैले खासै चकचक गरिएन । किनकी मामा मभन्दा ठूलो । उहाँसँग चकचक गर्ने कुरा हुदैनथ्यो । स्कुलमा पनि चकचक गर्ने कुरा थिएन । त्यहाँ एउटा हल र सानो कोठा थियो । हलमा हामी सबैले पढ्नु पथ्र्यो भने सानो कोठामा झा मास्टर बस्थे क्यार, त्यहाँ पकाएर खान्थे क्यार ।
धरानमा त्यो बेला अन्य ठाउँमा स्कुल थिएन । धरानको पहिलो स्कुल त्यहीँ हो । पाठशाला–पाठशाला भनिन्थ्यो । त्योभन्दा अर्को बिकल्प हामीसँग थिएन । त्यहाँ हामीले ८–९ को गुणन–भागसम्म सिक्यौ । त्यहाँ अङ्ग्रेजी पढाइ हुन्थेन । त्यहाँ अङ्ग्रेजी सिकेनौं । त्यसपछि हालको युरेकाको अफिस रहेको ठाउँमा सुरेन्द्र मास्के सरले पढाउनुहुन्थ्यो । सायद त्यही नै होला ए, बी, सी, डी पढाउनु भयो । त्यो बेला राणाकाल नै थियो । तर, यहाँ त्यसको कुनै मतलव थिएन । मेरो उमेर पनि त्यही ८–९ वर्षको थियो । त्यसैले पनि थाहा पाइएन । एकै ठाउँमा पढाइ भएन । त्यहाँबाट धरान–३ को खोल्सापारी जहाँ मेरा मामाको घर थियो । एकदुई घर पर्तिर एउटा स्कुल थियो । त्यही स्कुललाई नै २००३ सालमा हाइस्कुल बनाइयो । हाल धरान–१२ को पब्लिक हाइस्कुल नै पहिलो हाइस्कुल हो । त्यहीँबाट मैले २००६ सालमा एसएलसी दिए । हामी ७ जना थियौं । ४ जना पास भयौं । म फष्ट डिभिजनमा पास भएँ । दुई जना सेकेण्ड डिभिजनमा र १ जना थर्ड डिभिजनमा । हामीले बिरगञ्ज गएर एसएलसी दिएका थियौं । एसएलसी जाँच दिन जाँदा हेडमास्टरदेखि स्कुल सञ्चालकहरूले जुलुस निकालेर हामीलाई भानुचौकसम्म स्कुलले बिदाइ कार्यक्रम राखेको थियो । त्यो बेला बिरगञ्ज पनि एउटा बस मात्रै चल्थ्यो, भानुचौकबाट । काठमाडौं जाँच दिन नसक्नेहरूका लागि सरकारले बिरगञ्जमा एसएलसी दिने व्यवस्था मिलाएको थियो ।
हामी पहिलो ब्याच थियौं पब्लिकबाट एसएलसी दिने । त्यो बेलामा पढ्नुपर्छ भन्ने दिमागमा आइसकेको थियो क्यार । दिनको तीन–चार घण्टा पढिन्थ्यो । तर मेरो जिम्मेवारी पढाइ मात्रै थिएन । म पछिका तीन–चारजना भाइबहिनी जन्मिसकेका थिए । उनीहरूलाई पनि पढाउनुपथ्र्यो । कालो पाटीमा क, ख ग, १, २, ३ र गुणान–भाग सिकाउनु पथ्र्यो । उनीहरूको हेरचार गर्नुपथ्र्यो । बोक्नुपथ्र्यो । घरको जेठो छोरो भएकाले सबै जिम्मेवारी मैमाथि थियो । अहिलेको जस्तो थिएन । आमा पढ्नु भएको होइन् । आमा ल्याप्चे लगाउने, पछिसम्म ल्याप्चे नै लगाउनु भयो । जति–जति पढ्दै गयौं । सरहरूले मप्रतिको चाख र मेरो दिमागी चुस्तता देखेर खुसी हुनुहुन्थ्यो क्यार । २००४ सालमा पुरस्कार पनि थापे । त्यो बेला सुसेली बजाउने र गीत गुनगुनाउनेमा पुरस्कार थापेको स्मरणमा छ ।
पहिलो ब्याचमै एसएलसीमा फष्ट डिभिजन ल्याएकाले सरकारको तर्फबाट दिने आर्थिक सहायता (आस) पनि बढाइयो । अरू–अरू स्कुलका हेडमाष्टरले स्कुलका हेडमाष्टर हरिहर प्रसादलाई बधाइ पनि दिनुभयो । त्यो बेलामा अहिलेको जस्तो खादा, दोसल्ला, रकम दिने चलन थिएन । सामान्य औपचारिक मात्रै हुन्थ्यो । त्यसपछि आइए त्रिचन्द्र कलेजमा भर्ना भए । नेपालमा कलेज पनि त्यही एउटा मात्रै थियो । त्यहाँ हामीलाई बालकृष्ण शमशेर, पुस्कर शमशेर जवरा, कृष्णबहादुर मानन्धर, गोदत्तमान श्रेष्ठलगायतले पढाउनुहुन्थ्यो । जो पछि लेखक, साहित्यकारको रूपमा परिचित हुनुभयो । आइए पढ्ने हामी दुई ब्याच थियौं । ५०–६० जना थियौं होला । त्यहाँ पास भएपछि बिए पढ्नका लागि काशी विश्वविद्यालय वनारस गयौं । काशी विश्वविद्यालयको नाम काठमाडौंमै सुनेको थिएँ । काशीबाट २०१० सालमा बिए सिध्याएँ । एमए पढ्ने इच्छा थियो । पब्लिकबाट मसँगै एसएलसी पास भएको साथी पनि कलकत्ता विश्वविद्यालय गएको थियो एमए पढ्न । मलाइ पनि त्यहाँ जाने इच्छा थियो । तर, आमाले नेपाल गएर पढ् भन्नुभयो । त्यो बेला नेपाल भनेको काठमाडौंलाई भनिन्थ्यो । मेरो आमाले फरर इङ्ग्लिस भनेको सुन्ने चाहाना थियो क्यार । आफूले हातमा लगाएको सुनको बाला बेचेरै पनि छोरालाई पढाउछु भनेर भनेपछि बुबाले पनि केही भन्नुभएन । काठमाडौंमा गएर ‘ल कलेज’ ज्वाइन गरे । त्यो बेला रामराज पन्त कलेजको प्रिन्सिपल हुनुहुन्थ्यो । त्यही पढ्दा पढ्दै भाइ बिरामी भयो । उसलाई पटना लिएर आमा, बहिनी जानु भएछ । मलाई आकाशवाणी भयो । म पनि बिचमै पढाइ छाडेर भाइको हेरचाहको लागि खटिए । झण्डै ३ महिना बसे । भाइलाई एकप्रतिशत पनि ठिक हुने छाँट देखिएन । भाइलाई के भएको थाहा थिएन ।
अहिले बुझ्दा क्यान्सर भएको रहेछ । डाक्टरहरूले जे–जे भन्छ त्यो पूरा गरिदेउ भनेर भन्नुहुन्थ्यो । उसलाई नेपाल ल्याउँदा ल्याउँदै बीच बाटोमै मृत्यु भयो । त्यसपछि ‘ल’ को पढाइ कन्टिन्यू गर्न खोज्दा बुबा बोल्दै बोल्नुभएन । आमाले भैगो, यत्रो पढिहालिस, अङ्ग्रेजी बोल्ने भइहालिस् भनेर सम्झाउ थाल्नुभयो । त्यसपछि पढाइ त्यसै टुट्यो । त्यसयता उनले एकेडेमिक शिक्षातर्फ भन्दा बढी बढी कोर्षबाहिरका किताबहरू पढ्दै आएका छन् ।
बिए कृष्ण अहिले पनि दैनिक ३–४ घण्टा पुस्तकमा घोत्लिन्छन् । पत्रपत्रिका तथा पुस्तकमा आँखा डुलाइरहेका हुन्छन् । अन्य विषयभन्दा राजनीतिमा बढी चासो राख्ने श्रेष्ठ अहिलेका स्कुल तथा कलेजका नानीहरूलाई यसरी सुझाव दिन्छन्ः जो स्कुल–कलेजमा पढिरहेका छन् । उसको ध्यान पहिलो कुरा पढ्नु मै हुनुपर्छ । होमवर्कहरू छन् भने सरहरूलाई होमवर्क टाइम दिने । र, त्यसमा सरहरूले के–केस्तो चिन्ह लगाएर वा गल्ती सच्याएका रहेछन्, के सुधार गरेका रहेछन् ? किन यस्तो गर्नुभयो, किन यस्तो भयो भनेर सरहरूलाई सोध्ने बानी बसाल्नुपर्छ । पढाइ छाडेको छ भने कम्तीमा दिनको एक २ घण्टा पढ्ने बानी गरौं । हिजो हाम्रो पालामा पत्रपत्रिका थिएन, पुस्तकको पहुँच थिएन । अहिले सबै कुरा उपलब्ध छ । जुन पुस्तक तथा पत्रिका मन पर्छ । त्यहीँ पत्रिका किनेर पढौं । त्यसपछि घरव्यवहारको कुरा हेर्ने । आफूभन्दा मुनीका भाइबहिनीहरूको पढाइमा ध्यान दिने, स्कुल जान्छन्, जादैनन्, स्कुल समयमा पुग्छन् कि पुग्दैनन्, बीचैमा छाडेर आएका छन् कि यस्ता कुरामा ध्यान दियो भने पक्कै सुधार हुन्छ । हाम्रो पालाभन्दा अहिले धेरै कुराको सुविधा छ । त्यो सुविधालाई सही प्रयोजन गरे अगाडि बढ्न अप्ठ्यारो छैन । (धरानका ‘बिए’ कृष्ण श्रेष्ठको स्कुले कथा यहाँ प्रस्तुत गरिएको छ । कतिपयीलाई थाहा नहुन सक्छ । उनी धरानका पहिलो ‘स्नात्तक अर्थात् बिए’ गर्ने व्यक्ति हुन् । त्यसैले उनको नामको अगाडि ‘बिए’ जोडिएर आउने गर्दछ । विक्रम सम्वत १९९१ असार २६ गते जन्मिएका बिए कृष्ण श्रेष्ठको स्कुले अनुभव । )