विराटनगर । वर्षौंदेखि कर नबुझाउने ७२ करदाताको आन्तरिक राजश्व कार्यालय विराटनगरले सम्पत्ति रोक्का गरेको छ ।
राजश्व कार्यालयले आर्थिक वर्षमा आय करतर्फ ३८, मूल्यअभिवृद्धि करमा ३१ र अन्तःशुल्कमा ३ गरी ७२ करदाताहरुको पहिलो चरणमा सम्पत्ति रोक्का गरेको हो । कर नबुझाउने करदाताहरुको घरजग्गा, बैङ्क खाता र त्यही फर्मको नाममा हुने मालवस्तु पैठारी–निकासी रोक्का गरिएको आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख दिलिपकुमार गौतमले जानकारी दिए ।
समयै कर नबुझाउने विराटनगरका प्रतिष्ठित व्यापारीसमेत रहेको पाइएको छ । उनीहरुले व्यक्तिगत र साझेदारी गरी फर्म र उद्योगहरु सञ्चालन गरेका छन् । कारोबार रोक्का गरिएका फर्महरुले बैङ्क तथा वित्तीय कारोबार, वस्तु आयात–निर्यातदेखि बिक्री वितरणदेखि घरजग्गा बिक्रीसमेत गर्न नपाउने गौतमले बताए । ‘समयमै बक्यौता नतिर्नेलाई पहिलो चरणमा ७२ जना करदतालाई कारबाही गरेका छौं’ गौतमले भने, ‘क्रमशः अन्य फर्म र उद्योगलाई समेत कारबाहीको प्रक्रिया अगाडि बढाउनेछौं ।’ व्यक्तिगत फर्म तथा प्रा.लि.को नाममा दर्ता भएर एक लाखभन्दा बढी आयकर विवरण बुझाउन बाँकी देखिएका ४ सय ९४ जना करदाता छन् । ‘आयकर विवरण नबुझाउने करदाताले नै कर (भ्याट) समेत बुझाएका छैनन्’ उनले भने, ‘आर्थिक वर्ष २०७२ असार मसान्तसम्मको आयकर विवरण नबुझाउने करदाता ३ सय ३८ रहेका छन् । यी फर्म तथा प्रा.लि.को समेत कारोबार रोक्का गर्ने प्रक्रिया अगाडि बढाउने तयारीमा छौं ।’
२०२५ सालयता कर नबुझाएका फर्महरुसमेत देखिएका छन् । उनीहरुको बैङ्किङ कारोबार तथा घरजग्गा सम्पत्ति नामसारी भइसकेको देखिएपछि लामो अवधि कर नबुझाउने करदातामाथि समयै अङ्कुश लगाउने तयारी थालिएको हो । मु.अ. करतर्फ २० करोड, आयकरमा २९ करोड ८५ लाख र अन्तःशुल्क बापत ८७ लाख रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको राजस्व कार्यालय विराटनगरले जनाएको छ । कारोबारमा रोक लगाएपछि विवरण बुझाउन आउने फर्महरुलाई जरिवाना लाग्नेछ । पचास लाखभन्दा बढीको कारोबार गर्ने तर भ्याटमा दर्ता नभएका फर्महरुले नियम अनुसारको प्रक्रिया पूरा गर्नु पर्नेछ । अझै पछिल्लो समय महानगरपालिकाभित्र दर्ता भएका व्यवसायले पनि भ्याटमा अनिवार्य जानुपर्ने प्रावधान रहेको छ । समय अवधिका आधारमा २०२५ सालदेखि २०५० सालसम्मको २५ वर्षलाई एउटा आधार मापन गरिएको छ । यो अवधिमा ३ सय ५९ फर्म कर नबुझाउने सूचीभित्र छन् । यी फर्महरुले सबै स्वामित्व परिवर्तन गरेको देखिएको छ । यसैगरी २०५० देखि ०५५ सम्मका १ सय ७२ र २०५५ सालदेखि २०६० सम्मका १ सय ७१ फर्म पनि त्यस्तै देखिएका छन् । त्यो अवधिपछिको पाँचवर्ष २०६५ सालसम्म ३ सय ४३ फर्महरुको कर विवरण बुझाउन बाँकी छ । कर कार्यालयले २०७० सालदेखि यताको पाँचवर्षमा कर विवरण बुझाउन बाँकी देखिएका फर्म तथा प्रा.लि.लाई तत्काल कर दाखिला गर्न आग्रह गर्दै आएको छ । जस्तोसुकै अवस्थामा कर चुक्ता नगरी फर्महरु बन्द गरेर नयाँ फर्म सञ्चालन गर्नेहरु उही व्यक्ति वा कारोबारी भए वा देखिएमा त्यस्ता फर्महरुको समेत कारोबार रोक्का गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ ।