
भद्रपुर । बेवारिसे अवस्थामा मरेको हात्तीको भित्री भागको एउटा दाह्रा बरामद गरिएको छ । झापा बुद्धशान्ति ५ मा रहेको पाँचपोखरी सामुदायिक वनबाट गत सोमबार( साउन ७ गते) दाह्रा बरामद गरिएको जिल्ला वन कार्यालय झापाले जनाएको छ ।
वन क्षेत्रको ब्लक नम्बर ५ को सिमसार आँपे खोल्सीमा अन्दाजी ४०/४५ वर्षको भाले जातीको हात्ती मरेको अवस्थामा फेला परेको थियो । दुवै तर्फको दाह्रा चोरी भएको र पुच्छरको राैं समेत लगेको पाइएको थियो ।

हात्तीको अवस्था हेर्दा करिब दुइहप्ता अगाडी मरेको हुनसक्ने वन कर्मचारीले अनुमान लगाएका छन् । पशु सेवा कार्यालय इलामका वरिष्ठ पशु अधिकृतको रोहवरमा पोष्टमार्टमगरी दाहिने तर्फको दाह्रा नभएको र देब्रे भागको भित्री दाह्रा बरामद गरि हात्तीलाई सोही स्थानमा पुरिएको थियो ।

वन्यजन्तुको आखेटोपहार व्यवस्थापन सम्बन्धि कार्यविधि २०७२ को दफा ३ को उपदफा १ को ख बमोजिम व्यवस्थापन गर्नुपर्ने नियम रहेको कार्यालयले जनाएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गिता कुमारी राई, जिल्ला प्रहरीका असई रामशेखर थापा, वन कार्यालयका निमीत्त कार्यालय प्रमुख नथुनी गोहिवार यादव र पत्रकार महासंघ झापा शाखाका कार्यसमिति सदस्य उत्तम नेपालको प्रतिनिधिको रोहवरमा लाहछाप गरिएको थियो ।
सामानलाई तत्काल काठमाण्डौ पठाइने वन अधिकृत शाहले बताए । हात्ती मारेर दाह्रा लैजानेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अपराधिहरुको संलग्नता हुनसक्ने उनले जनाए । हात्तीको दाह्रा फेला परेको झापामा पहिलो पटक भएको वन कार्यालयले जनाएको छ ।
