पानवारी  । महिलाको विभिन्न संघ संगठनहरुको साझा संगठनको रुपमा रहेको महिला सञ्जाल धरान उपमहानगर कमिटिको अध्यक्षमा सविता राई चयन भएकी छन् ।

बुधबार सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा भएको कार्यक्रमबाट महिला सञ्जाल धरानको नेतृत्व चयन गरिएको थियो । सञ्जालको बरिष्ठ उपाध्यक्षमा चेतना श्रेङ, उपाध्यक्षमा सपना राई, सचिवमा कोपिला भट्टराई, सहसचिवमा सीता मगर र कोषाध्यषमा लहरु जिमि चयन भएका छन् । सञ्जालको चौथो अधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरुलाई धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले बधाई दिदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेकी थिइन् ।

पहिलो बैठकबाट ९ सदस्य मनोनित गरी सञ्जालको कार्य समिति १५ सदस्यीय बनाइने जानकारी नवनिर्वाचित अध्यक्ष सविता राईले बताइन् । उनका अनुसार अहिले ६ जना पदाधिकारी चयन भएका छन् भने चाडै बैठक बसी अन्य सदस्यको समेत टुंगो लगाइनेछ ।