मोरङ/मोरङ पथरीशनिश्चरेकी हेमानन्द गिरी हिन्दुहरुको सबैभन्दा ठूलो पदवी ‘शंकराचार्य’ बनेर नयाँ इतिहास रचेकी छिन् । उनी शकराचार्य हुने विश्वकै पहिलो महिला बनेकी छन् ।
प्रमुख चार स्थलका मठमध्ये भारतको उत्तराखण्डको ज्योतिर्मठको शंकराचार्यका लागि साध्वी गिरीले ३ महिना अघि आफ्नो दावेदारी पेस गरेकी थिइन् । १ हजार २ सय वर्षको शंकराचार्यको इतिहासमा यसखाले दाबी गर्ने आफु पहिलो महिला भएको जनाउँदै शंकराचार्य हुने पनि आफु पहिलो महिला हुन पाएकोमा आफुलाई ज्यादै खुसी लागेको उनले बताइन् । ‘यो मेरा लागि ज्यादै ठूलो अवसर हो र सँगसँगै चुनौती पनि छ । तर अवसर र चुनौती दुवैलाई समानरुपले लिएर अघि बढ्छु ।’– निडर स्वभावकी प्रभावशाली वक्तामा गनिने उनको सोही प्रकारको प्रतिक्रिया छ ।
यस अघिका शंकराचार्य भन्दा उनी उमेरले पनि कान्छी हुन् । उनको उमेर ४१ वर्ष हो । यसकारणले पनि विद्धतहरु सामु आफु परिपक्व बन्नु पर्ने चुनौतीलाई आफु थप निखार्दै सामना गर्ने उनको दर्विलो आँट छ । ‘यति लामो इतिहासमा महिलाको नाम समेत दर्ता नहुने गरेको अवस्थामा यस वर्ष पहिलो पटक आफ्नो नाम, दर्ता मात्र भएन शंकराचार्य नै बन्न पाउनु नेपालका लागि पनि निकै ठूलो गर्वको विषय हो ।’– उनले गर्वका साथ ब्लाष्टसँग भनिन् । उनी शकराचार्य बनेपछि उनको घरमा साधु सन्त सहितका विद्धत मानिसहरुको बधाई दिने जमघट बढेको छ । विभिन्न ठाउँमा उनलाई सम्मान गर्ने क्रम पनि बढेको छ । यस क्रममा विश्वकै प्रथम महिला जगतगुरु शंकराचार्य बनेकोमा गौरवपूर्ण खुसी व्यक्त गर्दै झापाको पाउ पाथिभरा मन्दिर चारआलीले सम्मान गरेको छ ।
२ सय जना ठूला ठूला धार्मिक गुरुहरुले शंकराचार्यका लागि आवेदन गरेकोमा साध्वी गिरी उत्कृष्ठ ४ भित्र छनौटमा परेकी थिइन् । चारमध्येबाट उनी श्रेष्ठ ठहरिइन् । असार २६ अर्थात जुलाई १० तारिखमा वैदिक सनातन हिन्दुत्वको केन्द्र संस्थाहरु भारत धर्म महामण्डल एवं काशी विद्वत परिषद्ले उनलाई शकाराचार्य भएको कुराको पत्राचारमार्फत जानकारी गराउँदै प्रमाणपत्र प्रदान गरेको छ । छिटै सो संस्थाले नेपालको पशुपतिनाथ मन्दिर परिसरमा पदभार ग्रहणका लागि विभूषित गर्ने जानकारी आएको नव नियुक्त शंकराचार्य गिरीले जानकारी दिइन् ।
को हुन गिरी ?
पथरीशनिश्चरे १ को पथरी बजारस्थित यलम्वर चोक निवासी उनको खास नाम हेमा ढुंगाना हो । सन्यास जीवनमा सामेल भएपछि उनको नाम बदलिएको हो । उनी विद्यार्थी राजनीतिमा पनि प्रभावशाली रुपमा सक्रिय थिइन् । तर सामाजिक र आध्यात्मिक बाटोमा लाग्ने उनको भित्री इच्छा अनुसार साधु नै बनेर यस क्षेत्रमा लागि परिन् । विश्वका साधुसन्तहरुको संगठनमध्येको ठूलो संगठनका रुपमा चिनिएको भारतको जूना अखडाका लागि २ वर्षअघिबाट नेपालको पहिलो महामण्डलेश्वर चुनिइन् । त्यसपछि उनले आफुलाई ‘अनन्त श्री विभुषित महामण्डलेश्वर श्वामी हेमानन्द गिरी महाराज’को नामले चिनाउँदै आएकी छन् । उनी पतञ्जली योगको महिला राष्ट्यि अध्यक्ष भएर योग साधनाका क्रममा आध्यात्मिक बाटोमा तल्लिन बन्न पुगिन् । गिरी भारतका बिभिन्न आश्रमहरुमा समेत बस्दै आएकी छन् । आफ्नी आमा तीला ढुंगानाको आध्यात्मिक सन्देशबाट उनी प्रेरित हुँदै छ वर्षको कलिलो उमेरदेखि धर्मतिर लागिन् । १३ वर्षको उमेरमा मेचीमहाकाली पदैल यात्रा गरेको आफ्नो कुरा साधूहरुको सर्वोच्च संस्था अखित भारतीय महामण्डलमा प्रस्तुत गरेको पत्रमा उल्लेख गरेकी छन् । उनी पूर्वी नेपालको वैदिक सूर्य शिवालयमठ गौरीगञ्ज, झापाकी प्रमुख हुन् ।
शंकराचार्यको कठीन छनौट
झापा दमक निवासी धार्मिक गुरु एवं ज्योतिष चक्रपाणि गौतमले गिरीको शंकराचार्यको दावेदारी नेपालका लागि नै गर्वको बिषय भएको त्यो बेला बताएका थिए । निकै कठीन छनौट प्रक्रिया पार गरेर शंकराचार्य नै बन्नु ज्यादै ठूलो उपलब्धी भएको उनले यसबेला जनाए । शंकराचार्यले हिन्दुत्व रक्षाका लागि भारतका चार स्थानमा चार मठहरु स्थापना गरेर तिनीहरुको समुचित संचालन र रक्षाका लागि विभिन्न अखडाहरु पनि बनाइएको गौतमले उल्लेख गरे । यी अखडामा विभिन्न दशनामी सन्यासीहरु तयार भए र ती विद्वान संन्यासीहरुको सहमतिमा प्रमुख चार मठमा शंकराचार्यको चयन हुने प्रावधान रहेको उनले प्रष्ट्याए । उनका अनुसार यो चयन प्रक्रिया निकै जटिल मानिन्छ ।
इतिहास र बेदका अनुसार आठौं शताब्दीमा आदी शंकराले अध्यात्म अनि दर्शनका माध्यमले हजारौं कोशसम्म आदी वेदान्तको धार चलाएको र उनलाई भगवान शिवको पूर्नजन्म अनि वैदिक सनातन संस्कारका एक आध्यात्मिक योद्धाका रुपमा लिइन्थ्यो । उनैले हिन्दु दर्शनकालागि चारवटा सर्वोच्च पदहरु सृजना गरेका हुन् । जसमा १२ सय वर्षदेखि पुरुष साधक अनि विद्वानहरुकै उपस्थिती रहेको थियो । शंकराचार्यको नियूक्ती वैदिक सनातन हिन्दुत्वको केन्द्र संस्थाहरु भारत धर्म महामण्डल एवं काशी विद्वत परिषद्ले गर्ने गर्दछ । भारत धर्म महामण्डलले आफ्नो संविधानका रुपमा आदीगुरु शंकराचार्यले लेखेको ‘महानुशासन’ नामक ग्रन्थलाई लिएको छ । महिलाहरु डण्डी स्वामी हुन नपाउने तर शंक्राचार्य हुनकालागि डण्डी स्वामी हुन जरुरी भएकाले यस अघि महिला शंकराचार्यको बिषयमा केही विवाद पनि भएको थियो । विश्वमा शंकराचार्य उपाधि पाएका धार्मिक व्यक्तित्व बिशेष पहिचान र सम्मान समेत हुने गरेको पाइन्छ । शकरचार्य पदवी पाएकाहरुलाइ भारत तथा नोपालमा राष्ट्रपति देखि प्रधानमन्त्रीसम्मले सम्मानकासाथ आफुभन्दा अग्रस्थानमा राखेर आशिर्वाद लिने मान्यता रहि आएको छ ।
                    
        
                                        
                                                                                                
        































