पाँचथर । पाँचथरे कवि राज माङलाकको कविता कृति ‘लिम्बुनी गाउँ’ २०७४ सालको मदन पुरस्कार पाउँने पुस्तकको सूचिमा परेको छ । पाँचथर आङ्नाका कवि माङलाकको ‘लिम्बुनी गाउँ’ नेपालकै प्रतिष्ठित मदन पुरस्कार पाउँने आठ पुस्तकहरुको सूचिमा परेको हो । पूर्वी नेपालको लिम्बु समाजको संस्कृति र सभ्यतालाई टिपेर कविता लेख्ने माङलाकको उक्त कविता कृति यसअघि पहिचान पुरस्कारको लागि समेत नोमिनेशनमा परेको थियो । माङलाकको पहिलो कविता कृतिलाई शिखा बुक्सले बजारमा ल्याएको हो । मदन पुरस्कार गुठीले सार्वजनिक गरेको पुरस्कार पाउँने सम्भावित आठ पूस्तकमा माङलाकको ‘लिम्बुनी गाउँ’ सँगै ध्रुवसत्य परियारको कैरन, सरस्वती प्रतिक्षाको नथिया, तीर्थ गुरुङको पाठशाला, यज्ञसको भुइयाँ, नयनराज पाण्डेको यार, नीलम कार्की ‘निहारिका’ को योगमाया र मोहन बैद्य किरणको हिमाली दर्शन रहेका छन् ।
































