भद्रपुर । झापा भद्रपुर नगरपालिका ५ स्थित मेचीनदी किनारका पन्ध्रघर परिवार विस्थापित हुने निश्चित भएको छ ।

पुल निर्माण कम्पनी सूर्य एण्ड सन्स जेभीले मेची नदीको तटबन्धन कार्य अधुरो छाडेपछि सुकुम्बासी बस्तीका घरपरिवार विस्थापितको खतरामा रहेका हुन् । कम्पनीले पुलको दायाँबाया डुङगा र तारजाली सहितको तटबन्धन निर्माण गरेपनि दक्षिणतर्फ सुकुम्बासी बस्तीमा अधुरो छाडेपछि ४० घरपरिवार मध्ये १५ घरपरिवार विस्थापित हुने वडाअध्यक्ष बन्दु कार्कीले बताए ।

केही दिनदेखिको अबिरल बर्षाले नदीमा पानीको सतह बढेसँगै धार परिवर्तन गरि नेपाल तर्फको सुकुम्बासी वस्तीमा कटान शुरु गरेपछि भद्रपुर माविमा सुरक्षित बासस्थानका लागि तयारी गरिएको उनले जनाए

। निर्माण कम्पनीले दक्षिणतर्फको बस्ती जोगाउन एकसय ७० मिटर तटबन्धन निर्माण गरिसकेको छ । थप ७० मिटर तटबन्धन निर्माणका लागि भद्रपुर नगरपालिका, पुल निर्माण कम्पनी र हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय इटहरी समक्ष तटबन्धन बढाउन लिखित तथा मौखिक माग यसअघि नै राखेपनि कुनै निकायबाट पहल नभएपछि घरबार बिहीन बनेको स्थानीय बिर्जु सहनीले बताए । राती पालो गरी सुत्छौ, यो पीडा हो, अहिले सम्म पीडा कसैले नबुझेको उनले बताए ।

नदीले कटान सुरु गरेपछि नदी छेउका स्थानीयले घर भत्काउँदै जमिन खाली गर्न थालिसकेका छन् भने विद्युतीय पोलबाट विद्युत समेत काट्न थालिसकेको छ । नगरपालिकाको अन्य वडामा भने हालसम्म कोहीपनि विस्थापित नभएको सम्बन्धित वडाअध्यक्षहरुले जनाएका छन् ।

पूर्व पट्टी मेची नदी र पश्चिममा पैनीसहितको खोलाले बर्षोनी बर्खाको समयमा बाढीले यो बस्ती डुबान पर्ने गरेको छ । केही महिना अघि इन्जिनियरसहितको टोलीले नापजाँच गर्दै अधुरो तटबन्धन नबढाए बस्ती पुनः डुबानमा पर्ने निष्कर्ष समेत निकालेको अध्यक्ष कार्कीले बताए । पुल निर्माण कम्पनीलाई तटबन्धनको लम्बाई बढाउन हुलाकी राजमार्ग आयोजना, योजना कार्यालयका इन्जिनियर उपेन्द्र दासले आग्रह गरेपनि तटबन्धन नबन्दा यस्तो परिस्थिती भएको वडा अध्यक्ष कार्कीले बताए ।

हुलाकी राजमार्ग आयोजनाले बजेट निकासा गरेमा अधुरो तटबन्धन बनाइदिने पुल निर्माण कम्पनीका कर्मचारी सुरेन्द्र खतिवडाले बताए । हुलाकीले आवश्यक सामग्रीको व्यवस्थापन नगरि दिएकोले समस्या उत्पन्न भएको उनले आरोप लगाए । बर्खामा तटबन्धन संम्भव नरहेकोले बर्खापछि अधुरो तटबन्धन निर्माण कार्यलाई पुरा गरिने हुलाकी राजमार्ग आयोजना, योजना कार्यालयका सब इन्जिनियर सुरेन्द्र यादवले जनाए ।

त्यसैगरि भद्रपुर स्थित मेची पुलको पूर्वी भाग भारतीय सीमा क्षेत्रसँग जोडिएको सडक पानीले बगाउन थालेपछि प्रहरी प्रशासनको ध्यान गएको छ । चारचक्के सवारी साधन वारपार गर्न बन्द भएपछि आइतबार नगरपालिका , सडक, निर्माण कम्पनी , प्रहरी, स्थानीय लगायतले मर्मत गरेको वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर प्रकाश जबेगूले बताए । सडकमा खाडल परेपछि दुर्घटना हुनबाट जोगाउन यस्तो काम गरिएको उनले जनाए ।