इलाम / कालो सुनका रुपमा चिनिने अलैँचीको फूल कुहिएर फल नलाग्ने समस्या भएपछि उत्तरी इलामका कृषकहरु चिन्तित बनेका छन् । वर्षातको समयमा लेकमा हुस्से र निरन्तर पानीका कारण फल लाग्ने समयमा फूल कुहिएपछि कृषकहरु थप मर्कामा परेका हुन् ।उत्तरी इलामका सुलुबुङ,जमुना,माइमझुवा,प्याङ,नयाँबजार,सोयाङ लगायतका अधिकांश ठाँउहरुमा अलैँची मासिएको कृषकहरु बताउछन् ।
करिब तीन वर्ष अघि लोकल अलैँची मासिएर कृषहरुले भार्लाङ, सलकपुरे अलैँची खेतीपाती नै मासेर लगाएका थिए । कृषकहरुले धान, आलु, मकै, कोदो फल्ने खेतबारीमा खेती भन्दा अलेँचीबाट आम्दानी बढी हुने उद्देश्यका साथ करेसाबारी देखी धानबारीसम्म अलैँची रोपेका थिए । विगतका वर्षहरुमा अलैँचीको मूल्यमा वृद्धि भएकाले अन्य खेतीको तुलनामा बढी आम्दानी भएका कारण कृषकहरु अलैँची खेती गर्न उत्साहित थिए । तीन वर्ष सम्म दिनरात अलैँचीको स्याहार गर्न गोडमेल, मलजल लगाउँदै कडा परिश्रम आएका कृषकहरु जब फल्ने समयमा आएर अलैँची मासिएको देखेपछि यता न उता भएको गुनासो पोख्छन् । यसबाट इलाम जिल्लाको सन्दकपुर, माईजोगमाई गाँउपालिकाका कृषकहरु भने झनै मर्कामा परेको सुनाउँछन् । सन्दकपुर गाँउपालिका वार्ड नम्बर तीन तालगाँउ निवासी जनक खतिवडाले गाँउ भरि नै ८० प्रतिशत भन्दा बढी कृषकका अलैँचीको फूल कुहिएको र फल नलाग्ने समस्या भएको बताए । उनले भने “खेतीपाती भन्दा सजिलो र आम्दानी पनि ज्यादा हुने उद्देश्यले अलैँचीलाई स्याहार सुसार गर्यौ तर बालुवामा पानी खन्याए झैँ भयो । आफूमात्र नभएर समग्र गाँउकै अवस्था यस्तो छ, तीन वर्षसम्म गरेको मेहेनतको फल नपाई अलैँचीले बिदा मागिसकेको छ ।”
यस्तै सन्दकपुर गाँउपालिका वार्ड नम्बर पाँच जमुनाका अर्का कृषक तारा न्यौपाने भन्छन्“गाँउमा बिरुवा नपाएपछि अर्को गाँउबाट प्रतिगोटा १० का दरले किनेर बिरुवा ल्याएर रोप्यौ,खेतीपातीलाई भन्दा धेरै स्याहार गर्यौ अहिले अलैँचीमा गरेको परिश्रम खेर गयो ।” ग्रामिण क्षेत्रका कृषकहरुले अलैँचीमा गरेको परिश्रम र मेहेनतको मूल्य नपाएको गुनासो व्यक्त गरेका छन् । धान फल्ने खेतमा होस वा आलु, मकै फल्ने बारीमा, खोर्सानी फल्ने करेसाबारीमा समेत गाँउघर तिर अलैँची देखिन्थ्यो । माईजोगमाई गाँउपालिका वार्ड नं छ प्याङका अलैँची कृषक डिक बहादुर साउदेनले पोहोरको साल सात मन फलेको अलैँची अहिले सात किलो नफल्ने बताए । अलैँचीको आश लाग्दो भनेको फूल लागेपछि हुन्थ्यो तर बेलैमा निराश बनाइदियो ,अहिले अलैँची बारीमा जादाँ समेत बिरक्त लाग्ने गरेको उनको भनाई छ । समयमा पानी नपर्ने, खडेरीमा माटो सुक्ने र अविरल वर्षा लागेपछि हुस्सु लाग्ने गरेको कारण अलैँचीको समस्या आएको कृषि विज्ञहरुले बताउने गरेका छन् ।
































