पानवारी  । बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिले यसवर्षदेखि विदेशमा सुनका गरगहना निर्यात गर्ने भएको छ ।

बराहको २४ औ वार्षिकोत्सवको अवसर पारेर सञ्चालक तथा धरान शाखा प्रमुख मानबहादुर दियालीले बराहको आफ्नै प्रोडक्सन हाउसबाट अब सुनचादी तथा हिराजडित गहना उत्पादन गरी विदेश निर्यात गर्ने बताए । बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिको २४ वर्षे व्यवसायिक सेवा र आगामी योजना सम्बन्धमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रालिका अध्यक्ष शिवकुमार लामिछानेले देशभरी अहिले ८ देखि १० हजारको हाराहारीमा सुन व्यवसाय गर्नेहरुको फर्म रहेको तर सो फर्महरुमा पर्याप्त पुजी नहुनु र पुजीको राम्रो व्यवस्थापन नहुँदा गुणस्तरीय तथा आकर्षक गरगहनाहरु उत्पादन हुन नसकेकोले बराह ज्वेलरीले त्यसलाई मध्यनजर राखेर गुणस्तरीय उत्पादन बजारमा ल्याउने बताए ।

उनले पाटनको औद्योगिक क्षेत्रमा रहेको प्रोडक्सन हाउसमा थप ३ सय जना कालिगढलाई रोजगारी दिने र सो कालिगढले उत्पादन गरेका गरगहना विदेश निर्यात गर्ने बताए । उनले विदेशमा गहनाको माग उच्च रहेको र माग अनुसारको आपुर्ति दिन नसकेको भन्दै चाडै माग अनुसारको उत्पादन गर्ने लक्ष्य लिइएको बताए ।

कार्यक्रममा बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिका सञ्चालक तथा शाखा प्रमुख मानबहादुर दियालीले प्रोडक्सन हाउसमा कालिगढले सुनका गरगहना उत्पादन गर्ने मात्र नभइ कालिगढको तालिम सेन्टरको रुपमा समेत त्यसलाई सञ्चालन गरिने बताए । उनले धरानमा रहेको बराह किचनले अब अनलाइन र फोनबाट आएको अर्डरलाई होम डेलिभरीको व्यवस्था गर्न सेवा विस्तार समेत गरिएको बताए । उनले धरानमा गाडी जानसक्ने स्थानमा होम डेलिभरी सेवा निःशुल्क रुपमा गरिने समेत उनले दाबी गरेका छन् । प्रालिको २४ औं वार्षिकोत्सव यसवर्ष पनि भव्यताका साथ मनाइने र सधैका वर्ष झै यस वर्ष पनि वार्षिक ग्राहकहरुलाई बम्पर उपहार स्वरुप एक जनालाई सुजुकीको जिक्सर बाइक उपहार दिने र प्रालिका १३ हजार ग्राहकलाई जनही पुरस्कार दिने समेत जानकारी दिएका छन् ।