बिर्तामोड/ मेहनत गर्ने हो भने जुनसुकै पेशाबाट पनि सफलता प्राप्त गर्न सकिन्छ । कृषि पेशामा लगातारको मेहेनतबाट पनि धेरै उद्यमी बन्न सफल भएका छन् । आत्मनिर्भर मात्र होइन, केही उद्यमीले धेरैलाई रोजगारी दिन सफल भएका छन् ।
कृषि पेशामा लगानी ठुलो चाहिदैन । सानै लगानीमा बिदेशको कमाई यहीं हुनसक्छ भन्ने उदाहरण बिर्तामोड ६ का राजन गौतम भएका छन् । गौतमले चरा पालेरै महिनाको महिनाको ५० हजारभन्दा बढी आम्दानी गरिरहेका छन् । उनले ब्यवसायिक रुपमा बट्टाई पालेर स्वरोजगार बनिरहेका छन् ।
७ बर्षभन्दा बढी समय बिभिन्न खाडी मुलुकमा गएर पसिना बगाउँदा समेत सोचेजस्तो कमाई हुन नसकेपछि उनी नेपालमै केही गर्न सकिन्छ भन्ने सोचेर फर्किएको बताउँछन् । आफ्ना दाजुको सहयोगमा नेपालका चर्चित ह्याचरीको भ्रमण गरी उनले बट्टाई पाल्ने सोच बनाएको बताए ।
उनले यसप्रकारको ब्यवसाय गर्ने भन्दा सुरुमा गाँउले समेत अचम्ममा परेको उनी सम्झिन्छन् । त्यो बेला आफुले उत्पादन गरेको बट्टाई बजारमा बिक्रि गर्न लैजाँदा समेत कसैले वास्ता नगरेको सुनाउँदै उनले भने–‘यसको महत्व बुझेपछि अहिले बजारमा माग बढ्दै गएको छ ।’
बिदेशमा अर्काको गुलामी गर्नुभन्दा परिवारसँगै रहेर मेहनत गर्दा अझ बढी आम्दानी गर्न सकिने उनले बताए । ‘स्वस्तिक कृषि फर्म’ दर्ता गरेर बिर्तामोड ६ को बुट्टाबारीमा उनले ब्यवसायिक रुपमा बट्टाइ लगायतका चरा पाल्न थालेका हुन् ।
एकबर्ष अघि चितवनबाट ३ सय चल्ला ल्याएर उनले फर्म शुरु गरेका थिए । लगभग २ लाखको लागतमा फर्म शुरु गरेका गौतमले अहिले २५ लाखभन्दा बढी त्यसमा लगानी पु¥याएका छन् । बट्टाइसँगै ह्याचरी सञ्चालन गर्न उनले २० लाखको लागतमा टहरा बनाएर कुखुरा पाल्ने तयारीमा उनी छन् ।
शुरुमा बिक्रि गर्न होटलहरुमा सम्पर्क गर्दा उपभोक्ताले ‘बट्टाई पनि खाने हो’ भन्दै इन्कार गरेको अनुभव उनले सुनाए । ‘धेरै उपभोक्तालाई बानी पार्न मैले फ्रिमा पनि ख्वाए, गौतमले भने–‘एक पटक उपभोग गर्ने उपभोक्ताले फेरी पनि बट्टाइ खोज्ने गरेका छन् ।’ अहिले झापाका होटलहरुमा यसको माग उल्लेख्य रहेको उनी बताउँछन् । दिन प्रतिदिन यसको पारखी बढीरहेको उनको भनाइ रहेको छ । उनी बट्टाइसँगै त्यसको अण्डा पनि बिक्रि गर्दै आएका छन् । उनको उत्पादन झापाका बिभिन्न होटलहरुमा बिक्रि हुँदै आएका छन् ।
बट्टाइका लागि उनी कुखुरालाई दिइने दाना नै प्रयोग गर्दै आएका छन् । उनले चितवनबाट दाना आयात गर्छन् । यो पेशा उनीसाग प्राविधिक ज्ञान भने छैन । अरुले गरेको देखेर मात्र आफुले बट्टाई पालेको उनले बताए । ‘स्थानीय निकायले कृषिक्षेत्रमा धेरै बजेट छुट्याएको सुनेको छु , गौतमले भने–‘म जस्ता किसानलाई पैसा होइन प्राविधिक सिप प्रदान गरियोस भन्ने मेरो अपेक्षा रहेको छ ।’
जनप्रतिनिधिहरु धेरै पटक आफ्नो घरमा आएको सुनाउँदै उनले भने –‘तर, अहिलेसम्म कतैबाट पनि सहयोग भने पाएको छैन ।’ ‘बैदेशिक रोजगारीबाट कमाएको पैसाले गाडी किनेको थिए, त्यो गाडी पनि बेचेर यसैमा लगानी गरेको छु –गौतमले भने, सानो घडेरी किनेको थिए त्यो पनि बिक्रि गरेर यही लगानी गरेको छु ।’
बट्टाई पालेर सफल भएका उनी कुखुरा, टर्की, कडकनाथ जातको कुखुरा पालनतर्फ पनि लाग्ने योजना रहेको सुनाउँछन् । यसका लागि खोर तयार भइसकेको बताउँदै केही समयपछि अन्य युवालाई समेत रोजगारी दिन सक्ने बताउँछन् ।
गौतमले भन्दा अघि पनि झापामा बट्टाइ खपत भइरहेको थियो । झापाका होटलहरुमा भारतीय ब्यापारीले ल्याएको बट्टाई बिक्रि हुँदै आएको थियो । उनको उत्पादनले त्यसलाई बिस्थापित त गरेको छ नै यसका पारखीको संख्या समेत थप गर्न सफल भएको छ । स्थानीय निकायले पहुँच भएकालाई मात्र सहयोग गरिरहेको छ । सरकारले लिएको समृद्धिको अभियान वास्तविक किसानसमक्ष नपुगेसम्म पुरा नहुने प्रष्ट छ ।