(एजेन्सी)- कृष्णसारको सिकार प्रकरणमा दोषी ठहर भएका बलिउड सुपरस्टार सलमान खानले शनिबार जमानत पाए।

जोधपुरको केन्द्रीय कारागारमा तीन दिन हिरासतमा बसेर शनिबार साँझ रिहा भएपछि उनी मुम्बईतर्फ प्रस्थान गरेका थिए। राति साढे ८ बजे उनी आफ्नो निवास ग्यालेक्सी अपार्टमेन्ट पुगेका थिए। सलमान त्यहाँ पुग्नु अगावै उनको निवास बाहिर हजारौं प्रशंसकको भीड लागिसकेको थियो।

घरको बार्दलीमा उभिएर सलमानले सबैको अभिवादन स्वीकार गरे। प्रशंसकसँगै बलिउडका सेलिब्रिटीहरुको सलमानको घरमा ताँती नै लाग्यो। सलमान घर पुगेको करिब एक घन्टापछि केटरिना कैफले उनलाई भेटिन्। यस्तै, टेनिस स्टार सानिया मिर्जा सहितका कैयौं सेलिब्रिटी उनको खबर बुझ्न निवासमा आए।

करिब २० वर्षअघि फिल्म 'हम साथ साथ है' को सुटिङमा जाँदा कृष्णसारको सिकार गरेको मुद्दामा सलमानलाई ५ वर्षको जेल सजाय सुनाइएको थियो। फैसला आउनु ठीक अगाडि सलमान अबुधाबीमा नयाँ फिल्म 'रेस ३' को सुटिङ गरेर भारत फर्केका थिए। 'रेस ३' का सबै कलाकार ज्याकलिन फर्नान्डिज, बबी देओल, डेजी शाह, सकीब सलीमका साथै निर्देशक रेमो डिसुजा समेत शनिबार राति  सलमानको निवासमा देखिए।

सलमान खानको घरमा शनिबार राति अबेरसम्म वरुण धवन, स्नेहा उलाल, राजपाल यादव, मलाइका अरोरा, अमृता अरोरा, प्रभुदेवा, निर्देशक कबीर खान लगायत सेलिब्रिटीहरु पुगेका थिए।