बलिउडमा लव अफेयरको विषयमा थुप्रै चर्चा-परिचर्चा हुने गरेको छ । यस्तै, अधुरो प्रेम कहानीलाई लिएर पनि उत्तिकै चर्चा चल्ने गर्छ । अमिताभ–रेखा, सलमान खान–ऐश्वर्या राय र शाहिद कपुर–करिना कपुरको अधुरो प्रेम कहानीमा थुप्रै रहस्य लुकेका छन्।

बलिउडको चर्चित अभिनेता सलमान र ऐश्वर्याको प्रेम–प्रसंगलाई लिएर थुप्रै अड्कलबाजी गर्ने गरिन्छ । उनीहरुको सम्बन्ध निकै रोमान्टिक मानिन्थ्यो, तर दुःखद अन्त्य हुन पुग्यो।

सन् १९९७ मा मिस वर्ल्डको उपाधि जितेपछि ऐश्वर्याले बलिउडमा पाइला टेकेकी थिइन् । त्यतिबेला सलमान सोमी अलीको प्रेममा डुबेका थिए । उनी सोमी अलीसँग विवाह पनि गर्न चाहन्थे।

तर, बलिउडमा ऐश्वर्याको प्रवेशसँगै सलमानको दिलबाट सोमी बाहिरिन पुगिन् । ऐश्वर्याको विषयमा लेखिएको किताब ‘हल अफ फेम’ का अनुसार निर्देशक मन्सुर अलीको सन् २००० मा रिलिज भएको फिल्म ‘जोश’ का लागि ऐश्वर्याको दाजुको भूमिकामा सबैभन्दा पहिलो प्रस्ताव सलमानलाई गरिएको थियो । तर, सलमानले निर्माता रतन जैनलाई फिल्म खेल्न अस्वीकार गर्दै भने, ‘मलाई ऐश्वर्याको दाजु नबनाऊ यार!’

ऐश्वर्या बलिउडमा संघर्षरत रहँदा सलमान खान अन्य फिल्मकर्मीसँग उनको नाम सिफारिस गर्थे । सलमानकै कारण ऐश्वर्याले सञ्जय लीला भन्सालीको फिल्म ‘हम दिल दे चुके सनम’ मा काम पाएकी थिइन् । यही फिल्म ऐश्वर्याको करिअरको ‘टर्निङ प्वाइन्ट’ साबित भएको थियो।

सलमानसँग ऐश्वर्याको हिमचिम बढे पनि उनको परिवार भने सलमानसँग खुसी थिएन । ऐश्वर्या भने सलमानको परिवारसँग नजिक बन्दै गएकी थिइन् । यिनीहरुको सम्बन्ध यतिसम्म नजिक भइसकेको थियो, सलमानका साथीहरु ऐश्वर्यालाई 'भाउजू' सम्बोधन गर्थे। ऐश्वर्याले आफ्नो एउटा अन्तर्वार्तामा भनेकी छन्, ‘म यस्तो केही गर्ने छैन, जसले गर्दा मेरो आमा–बुवालाई दुःख पुगोस्।’

‘हल अफ फेम’ किताबमा लेखिएको छ- ऐश्वर्याको आमा–बुवाले सलमानसँगको सम्बन्ध तोड्न छोरीलाई आदेश दिएपछि उनी घर छोडेर केही समय मुम्बईको लोखन्डवालास्थित ब्रुक हिल टावरको एउटा अपार्टमेन्टमा बस्न थालेकी थिइन्।

यही विन्दुमा यो जोडीको सम्बन्ध बिग्रिएको थियो । एक रात नशाले लट्ठिएका सलमानले रातभर ऐश्वर्याको अपार्टमेन्टको ढोका ढकढकाएका थिए । ऐश्वर्याले ढोका खोल्न नमानेपछि सलमानले १९ तला माथिबाट हाम्फालेर आत्महत्या गर्ने धम्की दिएका थिए । सलमान बिहान ३ बजेसम्म ढोकामा हिर्काउँदै बसेका थिए । जसका कारण सलमानको हात सुन्निएको थियो । तर, ६ बजे बिहान मात्र ढोका खुल्यो।

सलमान र ऐश्वर्याबीचको विवाद विवाहको विषयमा भएको थियो । सलमान तुरुन्त विवाह गर्न चाहन्थे । तर, ऐश्वर्या आफ्नो करिअर अगाडि बढाउन चाहन्थिन् । अपार्टमेन्टको घटनापछि ऐश्वर्याको बुवा कृष्णाराज रायले मुम्बई पुलिसमा सलमान विरुद्ध रिपोर्ट दर्ता गरेका थिए।

त्यसपछि ऐश्वर्या र सलमानको झगडा घरमा मात्र सीमित रहेन, सलमान आफ्नो रिस ऐश्वर्याको फिल्मको सेटमा गएर पोख्थे । उनले एक पटक अभिषेक बच्चनको फिल्म ‘कुछ ना कहो’ र शाहरुख खानको ‘चलते चलते’ को सेटमा ऐश्वर्यासँग झगडा गरेका थिए । झगडा बढेपछि शाहरुखले फिल्ममा ऐश्वर्याको स्थानमा रानी मुखर्जीलाई लिएका थिए । सलमानको उपद्रो व्यवहारले ऐश्वर्याको फिल्मी करिअरमा गम्भीर असर देखिन थालेको थियो।

एउटा अन्तर्वार्तामा ऐश्वर्याले स्वीकार गरेकी थिइन्, सलमानको व्यवहार उनीप्रति हिंस्रक थियो। ब्रेक–अपपछि पनि सलमानले उनलाई गाली गर्न छोडेनन् । सलमान ऐश्वर्यालाई शंकाको दृष्टिकोणले हेर्थे।

‘उनी मेरो अफेयर को–स्टार्ससँग भएको मान्थे । शाहरुख खानदेखि अभिषेक बच्चनसँग मेरो नाम जोडे । धेरै पल्ट उनले मसँग कुटपिट गरे । संयोगले मलाई ठूलो चोट लागेन र म सुटिङमा नियमित गइरहेँ’, ऐश्वर्यले भनेकी छन्।