चर्चित टेलिभिजन पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको डेब्यु निर्माण रहेको फिल्म ‘अनुराग’को पहिलो गीत ‘कान्छा दाई गाना बजाई देउ’ सार्वजनिक भएको छ ।

दी कार्टुन क्रुजका सरोज अधिकारी र एलिजा गौतमले फिचरिङ गरेको गीतमा ताराप्रकाश लिम्बु र ममता गुरुङको स्वर छ । ममताकै शब्द रहेको गीतमा ताराप्रकाशकै संगीत छ । डिस्कोमा खिचिएको डान्सिङ नम्बरको यो गीतमा विक्रम स्वारको कोरियोग्राफी छ । गीतमा टेकेन्द्र शाहको सम्पादन छ भने फिल्म सम्पादन चाहिँ भूपेन्द्र अधिकारीले गरेका छन् ।

एरिका फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा एलिजा गौतम, समुन्द्र पण्डित, ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला र विश्व बस्नेतलगायतको अभिनय छ । दर्जनौं फिल्ममा मुख्य सहायक निर्देशकका रुपमा अनुभव संगालिसकेका सत्यराज चौलागाईको डेब्यु निर्देशन रहेको फिल्ममा रामकुमार केसीको छायांकन, किरण दाहालको कथा, सत्यराज र आगत केसीको पटकथा र संवाद छ । फिल्ममा दीपक गौतम लाइन प्रोड्युसर, भरत गौतम र गीता भेटवाल निर्माता छन् । पत्रकार ऋषिराज धमला प्रस्तुतकर्ता रहेको फिल्म आगामी जेठ ११ गते रिलिज हुँदैछ ।