पानवारी / धरान प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको लोकनृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै डिपोट माविले नाङ्लोभरी पुरस्कार जितेको छ ।

बिहीबार धरान सभागृहमा सम्पन्न भएको प्रतियोगितामा डिपोट मावि पहिलो हुँदै नगद ५० हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । धरान प्रज्ञा प्रतिष्ठान स्थापना भएपछि पहिलो कार्यक्रमको आयोजना गर्दै नृत्यमा विजेता भएको टोलीलाई अन्य प्रतियोगितामा भन्दा फरक शैलीबाट तिहारमा दान दिए झै गरी नाङ्लो भरी फुलमाला सहित नगद पुरस्कार दिएको थियो । धरानका विभिन्न विद्यालय तथा संस्था गरी २२ टोलीको सहभागीता रहेको उक्त लोकनृत्य प्रतियोगिता दुई चरणमा सम्पन्न भएको थियो ।
सहभागी २२ टोलीबाट पहिलो चरणबाट १० वटा टोली दोस्रो चरणको लागी छनौट भएका थिए । छनौट भएका १० टोलीले बिहीबार धरान सभागृहमा अन्तिम प्रस्तुती दिएका थिए । प्रतियोगितामा धरान आदर्श मावि दोस्रो भएको थियो भने सुनगाभा स्कुल तेस्रो भएको थियो । दोस्रो र तेस्रो हुने विद्यालयलाई ट्रफि तथा प्रमाण पत्र दिइएको थियो ।
पहिलो भएको डिपोट माविको नृत्य समुहका कोरियोग्राफर दिवस श्रेष्ठ बेष्ट कोरियोग्राफर घोषित हुँदै १० हजार नगद सहित ट्रफि जित्न सफल भएका थिए । विजेता नृत्य टोलीलाई कार्यक्रमका प्रमुख अथिति सांसद जयकुमार राई, धरान प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव हर्क चुम्मे लगायतका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।
 
                     
         
                                        
                                                                                                 
        































