मुम्बई / बलिउड अभिनेता सलमान खानको हिट फिल्म ‘किक’को सिक्वेलको सुरसार बलिउडमा सुरु भइसकेको छ । फिल्मको पहिलो भागले बक्स अफिसमा उत्कृष्ट व्यापार गरेपछि फिल्मको दोस्रो भागका लागि कलाकार छनोट भइसकेको छ ।

समाचारअनुसार फिल्ममा शीर्ष भूमिकामा सलमान नै हुनेछन् । फिल्मका लागि यसअघि नायिका जेकलिन फर्नान्डिज फाइनल गरिए पनि अहिले आएर उनको स्थानमा एमी ज्याक्सनको प्रवेश भएको खबर छ । यो फिल्म सन् २०१९ को क्रिसमसमा रिलिज हुनेछ ।

फिल्मको पहिलो भागमा सलमान र जेकलिन बाहेक रणदीप हुड्डा र नवाजुद्दिन सिद्दीकी पनि थिए । फिल्ममा नवाजले भिलेन चरित्र निर्वाह गरेका थिए । यो फिल्मलाई दर्शकले निकै रूचाएका थिए ।नायिका एमीले फिल्म ‘फ्रिकी अली’मा नवाजुद्दीन सिद्दिकीसँग काम गरिसकेकी छन् । उनी रजनिकान्त र अक्षयकुमारको फिल्म ‘२.०’ मा पनि देखिँदैछिन् ।

सलमान यतिबेला बैंककमा फिल्म ‘रेस ३’को सुटिङमा व्यस्त छन् । यो फिल्ममा जेकलीन, डेजी शाह, बोबी देवल र अनिल कपूरको पनि अभिनय छ । फिल्मको निर्देशन रेमो डिसुजाले गरेका छन् । यो फिल्म यसै वर्षको इदमा रिलिज हुँदैछ । दक्षिण भारतका फिल्ममा ज्यादा देखिने ब्रिटिश मूलकी एमीलाई पछिल्लो समय अक्षयकुमारको अपोजिटमा फिल्म ‘सिंह इज ब्लिङ’मा देखिएको थियो । एमीको बलिउड डेब्यु भने आर्यन बब्बरका साथमा ‘इश्क’का साथ भएको थियो ।