शनिश्चरे/मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा भएका विकास निर्माणका योजनाहरु चुस्त दुरुस्त निर्माणको लक्ष्यका साथ अनुगमन कार्यलाई नगरपालिका कार्यालयले तदारुकता दिएको छ ।

अनुगमन समिति संयोजक एवं नगर उपप्रमुख यमुना विष्टको अगुवाईमा समितिका सदस्य, सम्बन्धित वडाका प्रतिनिधि, प्राविधिक सहितको टोलीले पछिल्लो ३ दिन लगातार रुपमा डेढ दर्जन योजनाहरु अनुगमन् गर्दै चुस्त दुरुस्त काम गर्न निर्देशन समेत दिएको छ ।

टोलीले, वडा नम्बर ८ को केर्खाखोला पक्की पुल, बाटो ग्राभेल, राय टोल जाने बाटोको स्तरोन्नती, वाँसवारी चोक दक्षिणको कल्भर्ट, श्याम गजमेरको घर दक्षिणको होलीको पक्की पुल सहितका योजना अनुगमन गरेको छ । सो वडामा कामको गतिले सवैभन्दा बढी रफ्तार लिएको र स्थानीयको सहभागितामा बढी नै काम भएको टोलीले ठहर गरेको छ ।

त्यस्तै, वडा नम्बर ९ को श्रीजंघा सिकारी टोल सडक ग्राभेल तथा स्तरोन्नती, वडा नम्बर ६ को पथरी खोला झोलुङ्गे पुलमा फन्डिसन स्लाप र माटो पुराई कार्यको पनि उसैगरी अनुगमन गरेको छ ।

वडा नम्बर ७ को भोटेघुम्ती जगत टोलहुँदै पश्चिम पथरीखोलासम्मको ३ वटा खण्डमा गरी उत्साहजनक रुपमा ५ किलोमिटर ३ सय मिटर सडक स्तरोन्नती, किराती चोकको बजार टहरा, चन्द्रकिरातेश्वर माविको रंगरोगन, संगालो वस्तीको इनार, ट्यूववेल र स्लापको अनुगमन भएको छ ।

यसक्रममा, शुक्रवार २ नम्बरको लाटीखोला सानो कल्भर्ट, २ र ३ जोड्ने लाटीखोलाको ठूलो कल्भर्ट, ३ को वीरेन्द्रनगर आइतवारे बजारको बाटो, पिपलचोकको बाटो, ४ को भुजेल टोलहुँदै महेन्द्रचोक जानेबाटोको स्तरोन्नतीको अनुगमन गरिएको छ ।

१ नम्बर वडाको सुनाखरी जोरधारा जाने पैनीमा पक्की ड्रेन पथरी क्याम्पस अगाडिको नालामा पक्की ड्रेन, इलाका प्रहरी कार्यालयको भवनको पनि अनुगमन गरिएको अनुगमन समिति संयोजक यमुना विष्टले जनाइन् । उनले विकास निर्माणका काम सन्तोषजनक रुपमा भइरहेको जनाउँदै गुणस्तरीय रुपमा चुस्तदुरुस्त निर्माण गर्ने परिपाटी वसाल्न समेत स्थानीयलाई उत्प्रेरणा दिइएको बताइन् । यसअघि नगर प्रमुख दीलिपकुमार राईले समेत योजनाहरु अनुगमन् गर्दै नगरको कामलाई प्रभावकारी वनाउने वताउँदै आएका छन् ।