पाँचथर/जिल्लाको छुट्टाछुट्टै बिद्यालयका दुई बिद्यार्थी कुटिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय बिराटनगरले ध्यानाकार्षण भएको जनाएको छ ।
आयोगका क्षेत्रिय प्रमुख मञ्जु खतिवडाले शिक्षक द्धारा बिद्यार्थी कुटिएको घटना प्रति आयोगले चासो दिएको र आवस्यक कारबाहीको प्रक्रिया बढाइने बताइन् । केही दिन अघि सदरमुकाम स्थित फिदिम मावि कक्षा–९ मा अध्ययनरत निलम नेपालीलाई सोही बिद्यालयका गणित बिषयका शिक्षक बिज्ञान पौडेलले निर्घात कुटपिट गरेका थिए । नेपालीले परिक्षामा आफूले प्राप्त गरेको अंक प्रति चित्त नबुझेर आफ्नो उत्तर पुस्तिका पुनः परिक्षण गर्न अनुरोध गर्दा शिक्षक पौडेलले २७ भाटा हानेका थिए ।
त्यस्तै फिदिम–४, गढीमा रहेको गढी मावि कक्षा–६ मा अध्ययनरत बरुणहाङ केरुङलाई कपाल छोंटो काटेको भन्दै बिद्यालयका प्रधानाध्यापक मानदेव केरुङले निर्घात कुटपिट गरेका थिए । गोप्य राख्ने प्रयास गरिए पनि दुबै घटना सार्वजनिक भएपछि घटना प्रति आयोगले चासो देखाएको हो ।