भद्रपुर/सरकारले धान सुपरजोन क्षेत्र घोषणा गरिसकेको क्षेत्रमा जथाभावी ईटा उद्योग सञ्चालनको अनुमति दिन थालेपछि स्थानीयले झापा अदालतमा मुद्धा दर्ता गराएका छन् । झापाको दक्षीणी क्षेत्र कचनकवल गाउँपालिका क्षेत्रमा जथाभावी ईटा उद्योग सञ्चालन भएको भन्दै स्थानीयले कात्तिक १२ गते मुद्धा दर्ता गराएका हुन् ।

स्थानीयले अदालतमा अन्तरिम आदेश सहितको निषेधाज्ञाको आदेश जारी गरी पाँउ भन्ने बिषयमा दुई वटा छुट्टाछुट्टै मुद्धा दर्ता गराएको छ । अदालतमा पेश गरिएको पहिलो निवेदन पत्र अनुसार कचनकवल गाँउपालिका वडा नम्बर ६ का सवुदिन मियाको श्रीमती ५५ बर्षिया आसमा खातुनले कचनकवल गाँउपालिका, सोही गाँउपालिका अध्यक्ष अञ्जार आलम, सोही गाँउपालिका वडा नम्बर ५ वडा समिति र सोही वडाका वडाध्यक्ष महेशलाल गणेश, उद्योग विकास शाखा भद्रपुर, ईटा उद्योग सञ्चालन गर्न उद्योग दर्ता गर्ने कचनवकल गाँउपालिका वडा ६ बस्ने ४५ बर्षिय जानतुम खातुन लगायत ६ जना विपक्षी प्रतिवादी बनाएर मुद्धा हालेका छन् । त्यस्तै दोस्रो निवेदन पत्र अनुसार कचनकवल ६ बस्ने मनबहादुर राजवंशी, महामती राजवंशी, उवासिंह राजवंशी, टलटली राजवंशी, भीमप्रसाद राजवंशी, लक्ष्मी राजवंशी, तिलसरी राजवंशी र विमलादेवी राजवंशीले पनि ६ जनालाई विपक्षी प्रतिवादी बनाएर मुद्धा हालेको पत्रमा उल्लेख छ । यता अदालतमा मुद्धा दर्ता भएसँगै अदालतले ६ जना विपक्षी प्रतिवादीको नाममा लिखित स्पष्टिकरण सहितको १५ दिने सूचना जारी गरिसकेको छ । अदालतले सबैलाई लिखिति पत्र समेत पठाइसकेको छ ।

घटना विवरण अनुसार सो गाँउपालिका आसपासको क्षेत्रमा वातावरणलाई प्रभाव पार्दै खेती योग्य जमिनमा नियमवितरीत ईटा उद्योग खोल्ने क्रम बढेपछि साविक पाठामारी गाविस १ र ९ हाल कचनकवल गाँउपालिका ५ स्थित आमजुवानी गाँउबासी त्यसको विरोधमा उत्रिएका हुन् । साविक पाठामारी १ र ९ मा पर्ने ७८२, ६८९, ७१४, ७७७, ७९५, ३५९, ३६० र ३५४ कित्ता नम्बरको जमिनमा खातुनले फिक्स चिम्नीको ईटा उद्योग सञ्चालनका लागि वडा कार्यालयमा सिफारिस माग गरेपछि पीडित किसान र स्थानीयले दावी विरोधका लागि निवेदन पेश गर्दा पनि जालसाज गरी वडा कार्यालयले सिफारिस दिएको थियो । वडाबाट सिफारिस भएपछि सञ्चालक खातुनले पत्रिकामा प्रारम्भिक वातावरण परिक्षण सम्बन्धी १५ दिने सूचना निकालेका थिए । सूचना पनि कागजी प्रक्रिया मै सिमित भएको स्थानीयको आरोप छ । गाँउबासीले पटक पटक वडा कार्यालय र गाँउपालिकामा गएर दावी विरोधको माग राखेपनि त्यहाँबाट सुनवाई नभएपछि पीडित स्थानीय पटक–पटक न्यायका लागि जिल्ला प्रशासन कार्यालय झापामा समक्ष पुगेका थिए ।त्यसपछि हामीले बाध्य भएर उनीहरु विरुद्ध अदालतमा मुद्धा हालेको स्थानीय धनलाल राजवंशीले बताए ।

गाँउमा ईटा उद्योग थप्दै जाने हो, भने– सामाजिक, भौतिक, रसायनिक र जैविक पक्षमा प्रत्यक्ष असर परेकाले धान लगायतको अन्नबाली उत्पादनमा हस आउन थालिसकेको स्थानीय रतन राजवंशीले बताए । सो क्षेत्रमा हाल चार वटा ईटा उद्योग सञ्चालन रहेको छ । जसले खेती योग्य जमिनदेखि वातावरणलाई प्रत्यक्ष असर पार्दै आइरहेको स्थानीय बताउँछन् । यता अदालतमा परेका मुद्दाको विषयमा उद्योग स्थापनाको क्रममा रहेका कनक राजवंशीले अदालतको पक्रिया चल्दै गएपनि उद्योग स्थापनाको प्रक्रिया अगाडि बढिरहने बताउँछन् । उद्योग विकास शाखाका कर्मचारीले स्थानीयलाइ उचालेर अबरोध पुर्याएको आरोप लगाएका छन् ।