भद्रपुर । झापाको मेचीनगरका दुई जना महिलालाई जापानी इन्सेफलाइटिस रोगको सङ्क्रमण पुष्टि भएको छ ।

मेचीनगर–३ र ५ नम्बर वडाका एक–एक महिलालाई जापानी इन्सेफलाइटिस रोगको सङ्क्रमण पुष्टि भएको नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिइन् । मेचीनगर–३ का ३६ वर्षीया र वडानम्बर ५ की ५५ वर्षीया महिलामा सङ्क्रमण भएको उनले बताइन् । वडानम्बर ३ का महिलालाई असार १७ र अर्की महिलालाई सोही महिनाको ३० गते सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिइन् ।

बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारपछि वडानम्बर ३ की महिला घर फर्किएका छन् भने अर्की महिलाको उपचार भइरहेको छ । उनको अवस्था अहिले सामान्य हुँदै गएको स्वास्थ्य शाखा प्रमुख सापकोटाले जानकारी दिइन् । सङ्क्रमण देखिएपछि डब्ल्यूएचओकी काठमाडौँ प्रतिनिधि डा. सोनिया भगतको टोली झापा आएको छ । रोगको सङ्क्रमण पुष्टि भएको डा.भगतले बताएको स्वास्थ्य शाखाले जनाएको हो । डा.भगत, स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी, प्रादेशिक अस्पताल भद्रपुरकी डा.सङ्गीता साहले यसको लक्षण र बच्ने उपायका बारेमा समुदायमा सचेतना गर्नुपर्ने आवश्यक रहेको बताएका छन् ।

छलफलमा नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले यो रोगको सङ्क्रमण हुन नदिन स्वाथ्यकर्मीहरूलाई घर–घरमा पुगेर जनतालाई सचेतना र सङ्क्रमणको लक्षण देखापरे समयमै स्वास्थ्य केन्द्र र नगर अस्पतालमा उपचार गराउन अनुरोध गरेका थिए ।

सङ्क्रमणको अवस्था जटिल बने डाक्टरहरूको सल्लाहमा प्रादेशिक अस्पताल भद्रपुरमा थप उपचारको व्यवस्था मिलाउन समन्वय गरिने उनीहरूको भनाइ छ ।  छलफलमा ३ नम्बर वडाका वडाध्यक्ष हर्कबहादुर बस्नेत, वडानम्बर ५ का वडाध्यक्ष कनकबहादुर कार्की, पशु शाखा, कृषि शाखालगायतका स्वास्थ्यकर्मीहरूले सङ्क्रमणबाट बच्न र रोकथाम गर्न तीन तहको सरकारको ध्यानाकर्षण हुनुपर्ने बताएका थिए । गतवर्ष उक्त रोगबाट मेचीनगर–७ मा एक जनाको ज्यान गएको थियो । यसअघि यही रोगका कारण नेपालमा करिब २५ जनाको ज्यान गएको थियो ।

जापानी इन्सेफलाइटिस के हो ?

जापानी इन्सेफलाइटिस मस्तिष्कमा सङ्क्रमण हुने लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो रोग लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो रोग लामखुट्टेले जनावरलाई टोकेर मानिसलाई टोकेमा सर्ने भाइरसजन्य रोग हो । यो रोगले मानिसको स्नायुमा असर पु¥याई अङ्गभङ्ग बनाउनुका साथै बिरामीको मृत्युसमेत हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । यो रोग सबै उमेर समूहका मानिसमा सङ्क्रमण हुने भए पनि १५ वर्ष मुनिका बालबालिका जोखिममा हुने गर्छन् । यो रोगबाट सङ्क्रमित जनावर (हाँस, कुखुरा, सँगुर, बङ्गुर, घरपालुवा पक्षी, बकुल्ला आदि) लाई लामखुट्टेले टोकेर सो लामखुट्टे सङ्क्रमित हुन्छ । त्यस लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा सर्छ । तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।

लक्षण कस्तो हुन्छ ?

बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, बेहोस हुने, सास फेर्न गाह्रो हुने, कम्पन हुने, पक्षाघात हुने यो रोगको प्रमुख लक्षण रहेको छ । यदि यो रोगको समयमा उपचार नभए बिरामीको मृत्यु समेत हुन सक्नेछ । यो रोग लागेको तीन दिनमा उपचार पाएमा निको हुने तर ढिलो भएमा अवस्था गम्भीर हुनेछ । यो रोग लागेको १० दिनदेखि १४ दिनसम्म अस्पताल बस्नु पर्ने हुन्छ ।

यो रोगबाट कसरी बच्ने ?

जापानी इन्सेफलाइटिसबाट जोगिने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै हो । यो रोगबाट बच्न शरीर ढाक्ने गरी कपडा लगाउने र झुलभित्र सुत्ने गर्नु पर्छ । हाँस, कुखुरा, सँुगुर, बङ्गुर, चराहरू र घरपालुवा जनावरहरूलाई व्यवस्थित तरिकाले घरदेखि टाढा खोरमा पाल्ने । बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएका कपडा लगाउनु पर्छ । यो रोगबाट बच्नका लागि बालबालिकालाई जेई खोप लगाउनु पर्छ । यदि यो खोप लिन छुटेको छ भने ५ वर्षको उमेरमा पनि जेई खोप लगाउन सकिने स्वास्थ्य विज्ञको भनाइ छ ।