काठमाडौँ/ बुद्घधर्मले आजभन्दा दुई हजार ६ सय वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् ।

समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्वारा बुधबार संयुक्तरुपमा आयोजित ‘बौद्धदर्शन, प्रजापति गौतमी र नारी स्वतन्त्रता’ विषयको अन्तरक्रियामा वक्ताहरुले यस्तो धारणा राखेका हुन् ।

माता महामाया देवीको निधनपछि राजकुमार सिद्धार्थलाई पालनपोषण गरी हुर्काएका कान्छी आमा प्रजापति गौतमी प्रवज्या भई भिक्षुणी बन्ने नेपालका पहिलो महिला थिए । बुद्घ शासनमा भिक्षु संघ स्थापना भएको छ वर्षपछि रानी प्रजापति गौतमीको नेतृत्वमा भिक्षुणी संघ स्थापना भएको थियो । त्यसरी पुरुष तथा महिला दुवैलाई भिक्षु बन्ने अधिकार दुई हजार ६ सय वर्ष अगाडि गौतमबुद्धले दिएको समानताको सन्देश त्यसबेलाको लागि ठूलो उपलब्धि भएको उनीहरुको भनाइ थियो ।

रानी प्रजापति गौतमीले आफूसँगै ५ सय जना महिलालाई पनि भगवान् बुद्धसमक्ष प्रवजित गराई भिक्षुणी बनाएको थियो । हाल विश्वको रुस, चीन, मंगोलिया, जापान, नेपाल, भारतजस्ता थुप्रै मुलुकमा लाखौँको संख्यामा प्रवज्या लिई भिक्षुणी हुने महिला रहेका छन् ।

विश्वमा हाल एक अर्ब ६० लाख मानिसले बुद्धधर्म ग्रहण गरेका छन् भने यो संसारको दोस्रो ठूलो धर्मका रुपमा मानिन्छ ।

कार्यक्रमको उद्घाटन गर्दै भिक्षु निग्रोधले प्रज्ञा नै मानिसको रत्न हो भन्नेमा विश्वास गर्ने बुद्ध दर्शनमा प्रलोभन, साम, दाम, दण्ड, भेदजस्ता विकृति हुँदैन भने ।

उनले सम्राट् अशोकसहित अरु धेरै राजालाई युद्धबाट शान्तिपथमा फर्काउनुभएको चर्चा गरे । भिक्षु निग्रोधले भने – “पितृसत्तात्मक नेपालमा अहिले पनि महिलालाई समान दृष्टिकोणले हेरिँदैन र उनीहरुमाथि भेदभाव हुन्छ । तर बुद्ध शासनमा पुरुष–महिला दुवैलाई बराबरी अधिकार हुन्छ । यस्तो महान् सभ्यता भएको बुद्धधर्म नेपालबाट २६ सय वर्ष अघि नै शुरु भएको थियो ।”

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शान्ति, समानता तथा भातृत्वभावमा आधारित भएकाले बुद्ध दर्शनप्रतिको आकर्षण पूर्वी एशिया, दक्षिण पूर्र्वी एशियासहित विश्वका धेरै मुलुकका जनतामा बढ्दै गएको बताए ।

धर्मकीर्ति विहारका भिक्षुणी वीर्यवती गुरुमाँले भगवान् बुद्धले नारीको स्वतन्त्रताका लागि दुई हजार ६ सय वर्ष अघि नै धेरै अधिकार दिएर जानुभएको बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा नरेशमान बज्राचार्यले बुद्धका कान्छी आमा रानी प्रजापति गौतमीले ५ सय महिलालाई भिक्षुणी बनाउने काम निक्कै महत्वपूर्ण भएको भन्दै यसलाई विश्वमा प्रचारप्रसार गर्नुपर्ने बताए।

कार्यपत्र प्रस्तुत गर्दै सहप्राध्यापक उर्मिला ताम्राकारले भगवान् बुद्धले ८४ हजार धर्मस्कन्ध दिएर जानुभएको र समाजका हरेक वर्ग, समुदाय, जातजाति तथा मानवको समस्या समाधान त्यसमा निहीत रहेको बताए ।