धरान/स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लामा सोमबार सम्पन्न निर्वाचनमा ७७ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
१३६ स्थानीय तहको निर्वाचनमा उत्साहजनक तरिकाले मत खसालिएको पाइएको आयोगले जनाएको हो । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार सप्तरीमा ७६.४ प्रतिशत, सिरहामा ७७.४ प्रतिशत, धनुषामा ७३.७ प्रतिशत, महोत्तरीमा ७३.३ प्रतिशत, सर्लाहीमा ७६.३ प्रतिशत, रौतहटमा ८०.४ प्रतिशत, बारामा ७९.४ प्रतिशत र पर्सामा ८०.१ प्रतिशत मतदान भएको छ ।
यसैबीच, १३६ स्थानीय तहमध्ये हालसम्म प्राप्त विवरण अनुसार ११९ स्थानीय तहमा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ । सप्तरीमा चार, सिरहामा एक, धनुषामा दुई, महोत्तरीमा दुई, सर्लाहीमा एक, रौतहटमा एक, बारामा एक र पर्सामा चार गरी जम्मा १७ वटा स्थानीय तहमा मतगणनाको तयारी भइरहेको छ ।