काठमाडौं/ पछिल्ला केही वर्षदेखि जीपीएस (ग्लोबल पोजिसनिङ प्रणाली) प्रविधिको माध्यमबाट गाडीको सुरक्षा गर्न थालिएको छ । अहिले अधिकांश कम्पनीले आफ्ना गाडीमा जीपीएस प्रणाली पहिले नै इन्ष्टल (प्रिइन्ष्टल्ड) गरेका हुन्छन् । गाडीमा यो प्रविधि प्राविधिकको सहायता लिएर सहजै जडान गर्न सकिन्छ ।
अमेरिकामा रहेका व्यक्तिले काठमाडौंमा रहेको आफ्नो सवारीसाधनका बारेमा थाहा पाउन सक्छ । त्यस्तै, अन्य देशमा रहेका अभिभावकले आफ्नोे छोराछोरी कसरी सवारीसाधनको प्रयोग गरिरहेका छन् भन्ने पत्ता लगाउन पनि यो प्रविधिको प्रयोग गर्न सकिन्छ । अहिले जीपीएस सिष्टमको प्रयोग नेपालका धेरै ठाउँमा भइरहेको छ । मुख्यगरी काठमाडौं, पोखरा, नारायणगढ, विराटनगर, बुटवल, भैरहवा, दिपायलका साथै अन्य शहरमा पनि यसको प्रयोग हुन थालेको छ ।
यो प्रविधिको सहयोगले सम्भावित दुर्घटना, अपहरणका घटना, हराएका बहुमूल्य सामान, मोटरसाइकल तथा गाडी पत्ता लगाउन सकिन्छ । यो प्रविधिले अफिसको ड्राइभरले एकातिर हुँदा अर्कोतिर छु भनेर ढाँट्न सक्दैन । व्यापारीहरूले सामान डेलिभरी पिकअपलगायत काममा कुन गाडी कहाँ छ, त्यो हेरेर आफ्नो अनुकूलको गाडी बोलाउन सक्छन् । यो डिभाइसको माध्यमद्वारा घरमै बसेर, ल्यापटप वा मोबाइल जुनसुकै उपकरणबाट पनि गाडी कुदिरहेको स्थान र गति हेर्न सकिन्छ । त्यसका लागि इण्टरनेटको आवश्यकता भने पर्छ । सो डिभाइस राखिएको गाडीको गति बढी छ अथवा प्रतिबन्धित क्षेत्रमा छ भने तुरुन्त कल गरेर सुझाव दिन सकिने व्यवस्था पनि यो प्रविधिमा हुन्छ । यो डिभाइस प्रयोग गरिएको गाडीभित्र भइरहेको कुराकानी पनि सुन्न सकिने हुनाले शङ्कास्पद अवस्थामा सम्भावित दुर्घटनाबाट पनि बच्न सकिन्छ ।
सडकमा गुडिरहेका सार्वजनिक बसको वास्तविक स्थान अवस्था, गति, रूटलगायतको निगरानीका लागि ग्लोबल पोजिशनिङ सिष्टम व्यवस्था लागू गर्ने तयारी नेपाल सरकारको पनि छ ।
गुडिरहेको बसको वास्तविक अवस्था पत्ता लगाउन शुरू गर्न लागिएको जीपीएस व्यवस्था दुर्घटना न्यूनीकरण, बसको गति नियन्त्रण र अपराध न्यूनीकरणका लागि उपयोगी हुनेछ । यो व्यवस्था लागू भएपछि देशभरमा कुन बस कहाँ र कुन रूटमा गुडिरहेको छ, रोकिराखेको छ वा गुडेको छ, कुन गतिमा गुडिरहेको छ भन्ने आदि जानकारी केन्द्रबाटै थाहा पाइन्छ ।
चौबीसै घण्टा काम गर्ने उक्त सिष्टममा बसका लागि निश्चित गतिसमेत निर्धारण गर्न सकिनेछ । यदि निर्धारित गतिभन्दा बढी गतिमा सवारी गुडाइएको पाइएमा सिष्टमले अटोमेटिक रूपमा केन्द्रदेखि बसमै घण्टीमार्फत जानकारी दिन सकिन्छ ।
गूगल नक्सा र जीपीएस प्रविधिको सहयोगमा स्याटेलाइटमार्फत निगरानी हुने यो व्यवस्थाअनुसार गाडीले निर्धारित रूटभन्दा बाहिर गएर चलाएको समेत निगरानी गर्न मिल्नेछ । साथै, बस दुर्घटना भएमा कस्तो अवस्थामा थियो भन्ने जानकारी पाइन्छ । दुर्घटनाको अनुसन्धानका लागि पनि यो प्रणालीले सहयोग गर्नेछ । रोकिराखेको बसमा अर्कोले आएर ठक्कर दिएको हो वा तीव्र गति अथवा अन्य कारणले दुर्घटना भएको हो भन्ने अनुसन्धान गर्न यो उपयोगी हुनेछ ।
जीपीएस किन राख्ने ? लाखौं खर्च गरेर सवारीसाधन खरीद गर्ने सवारीधनीका लागि यो अति आवश्यक छ । अञ्जानमा समेत दुर्घटना हुदा सवारीधनीहरू लाखौं रकम तिर्न बाध्य हुन्छन् । यद्यपि, यो उपकरण राख्यो भने सजिलै वास्तविक कुरा पत्ता लगाउन सकिन्छ र वास्तविक दोषीको पहिचान गरी कारबाहीको दायरामा ल्याउन सकिन्छ । यो उपकरणको मूल्य रू। १५ हजारसम्म पर्छ । गाडीमा जीपीएस राख्न चाहनेले उपकरण भने खरीद गर्नुपर्ने भएको छ । नेक्सजेन आईटी इण्टरनेशनलले यस्तो जीपीएस उपकरणको आयात गरी विक्रीवितरण गरिरहेको छ । यो उपकरणमा मोबाइल फोनमा प्रयोग गरिने सिमको प्रयोग गर्नुपर्ने हुन्छ । नेक्सजेनका अनुसार यो सिममा डाटा चलाएबापत मासिक ३ सय रुपैयाँ खर्च हुन्छ । जीपीएसलाई इण्टरनेटसँग जोडिनुपर्ने भएकाले डाटाको पैसा लाग्ने बताइएको छ ।