वीरगञ्ज/ आन्तरिक कार्यालयको छापअंकित ५० केजी (८७ हजारभन्दा बढी) नक्कली स्टीकरसहित आइतबार पक्राउ परेका भारतीय वीरेन्द्र गुप्तालाई थुनामा राखी अनुसन्धान भइरहेको छ ।
भारतबाट समान लिई नेपालतर्फ आइरहेको हिमालय ट्रान्सपोर्टको गाडी वीरगञ्ज भन्सार क्षेत्रमा जाँच गर्दा सो नक्कली स्टीकर फेला परेको आन्तरिक राजस्व कार्यालय पर्साले जनाएको छ । कार्यालयका अनुसार सो स्टीकर काठमाडौँ बौद्धस्थित हरिओम ट्रेडिङ प्रालिको रहेको अनुसन्धान क्रममा खुल्न आएको छ । सो स्टीकर आन्तरिक राजस्व विभागले मात्र मगाउने कानून प्रावधान रहे पनि हरिओम ट्रेडिङ प्रालिले कसरी ल्यायो भन्नेबारेमा छानबिन भइरहेको छ ।
आन्तरिक राजस्व कार्यालयका निमित्त प्रमुख रञ्जीता दत्तले अभियुक्त गुप्तालाई थुनामा राखी बयान लिने काम भइरहेको बताए।
रासस