काठमाडौं /७३ वर्षीय कुख्यात अपराधी चार्ल्स शोभराज कारागारभित्रै आमरण अनसनमा बसेका छन् ।

सुन्धारामा रहेको केन्द्रीय कारागारमा कैद भुक्तान गर्दै आएका शोभराज गएको साउन ३२ गतेदेखि अनसनमा बसेका हुन् ।

कैद मिनाहाको माग गर्दै शोभराज अनसनमा वसेको केन्द्रीय कारागारका प्रमुख जीवनबहादुर शाहीले जानकारी दिए । शोभराज अमेरिकी नागरिक कोनिजो ब्रोनिजको हत्या र जाली राहदानी मुद्दामा दोषी पाइएपछि १४ वर्षदेखि कैद सजाय भोगिरहेका छन् ।

शोभराजलाई यो बाहेक ०३२ पुस ६ गते भक्तपुरको साँगामा क्यानेडियन नागरिक लरेन्ट अरमान्ड क्यारियलको हत्या गरेको अभियोगमा थप सजाय भोग्नुपर्ने हुन्छ । ०७१ असोजमा भक्तपुर जिल्ला अदालतले क्यानेडियन नागरिक क्यारियलको हत्या अभियोगमा शोभराजलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

शोभराज भक्तपुर अदालतको तोकेको सजाय अहिले भुक्तान गरेको सजायमा नै काटिनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका हुन् । आमरण अनसन बसे पनि राति लुकेर शोभराजले खानेकुरा खाने गरेको कारागार सुरक्षामा खटिएका एक प्रहरीले बताए । “दिउँसो अनसन बसेका शोभराजलाई राति खाएको देखिन्छ । प्रहरी देख्नेबित्तिकै नखाएको जस्तो गर्छन्,” ती प्रहरीले भने ।

कारागारका एक कर्मचारीले शोभराजले भोक हड्ताल बस्नै नसक्ने दाबी गरे । “मुटुको अप्रेशन गरेको मान्छे यति धेरै दिन खाना नखाएर बस्न सक्छ रु कैद मिनाहा गर्नका लागि नाटक गरेको हो । भोक हड्ताल भन्छन्, तर राति लुकेर खाने गरेको हामीले देखेका छौं,” उनले भने । मुटुको भल्भमा समस्या भएपछि जेठ २९ गते उनको अप्रेशन भएको थियो ।

शोभराजले कैद मिनाहाको माग गर्दै सर्वोच्व अदालतमा रिटसमेत हालेका छन् । हत्या अभियोग प्रमाणि भएका शोभराजलाई प्रहरीले ०६० असोज २ गते काठमाडौंको रोयल क्यासिनोबाट पक्राउ गरेको थियो । हत्या र फर्जी राहदानीको मुद्दामा जिल्ला अदालत काठमाडौंले उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

 बाह्रखरीबाट