धरान/सामान्य विषयमा विवाद हुँदा धरान ९ मा भाडामा बस्दै आएको एक मुस्लिम परिवारले अर्को मुस्लिम परिवारमाथि मंगलबार राति करिव १० बजेतिर आक्रमण गरेको छ ।

आक्रमणबाट तीनजना घाइते भएका छन् । घाइते हुनेमा धरान ९ का राजु सिद्धिकी, उनकी पत्नी फरिदा र भाइ साजाद छन् । उनीहरुको धरानस्थित विजयपुर हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ । स्थानीयबासीले पक्राउ गरी उनीहरुलाई प्रहरीलाई बुझाएको हो ।
घाइते राजुका अनुसार आफूलाई काले भनिने नौसाद, मुवारक, अस्लम, मुक्तार, आशिक, सम्सेरलगायतका युवाहरुले आक्रमण गरेका हुन् । पत्नी फरिदासँग गफ गरिरहेको समयमा किन हाम्रो विषयमा गफ गरेको भन्दै एक्कासी आक्रमण गरेको घाइते राजुले बताए । उनका अनुसार रड, लौरोलगायतले प्रहार गरेका थिए ।
नौसादको आमासँग केही दिन अघि सामान्य विवाद सिर्जना भएको थियो । उक्त विवादलाई नै विषयमा बनाएर आफूहरुमाथि आक्रमण भएको हुन सक्ने उनले आशंका गरेका छन् ।