धरान/नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयन गराउने कुरामा तीनवटै पार्टीको उत्तिकै जिम्मेवारी रहेको बताएका छन् ।

‘संविधान कार्यान्वयन गराउने कुरामा कसैको पनि जिम्मेवारी कम र बेसी छैन् ।’ निर्वाचन परिचालन मूल समिति धरानले गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता केसीले शुक्रबार भने । उनले यसका लागि सबै दलहरुले जिम्मेवारी लिएर अघि बढ्नको लागि आग्रह गरे । उनले धरानलाई तराई र पहाडको ‘मिक्स जोन’ को रुपमा विकास गरिने बताए ।
धरान आर्थिक हवको रुपमा पनि विकास गरिने उनले बताए । उनले कांग्रेसलाई जिताएमा यहाँको आर्थिक विकास मात्रै नभएर स्वास्थ्य, पर्यटनलाई पनि अघि बढाउने बताए । उनले धरानवासीलाई कांग्रेसलाई मत दिएर जिताउनको लागि आग्रह गरेका छन् । कांग्रेसका केन्द्रीय सदस्य मिन बिकले पनि राष्ट्रलाई एकसुत्रमा बाध्ने काम कांग्रेसले गर्ने बताए । त्यसका लागि कांग्रेस ‘एलाष्टिक’ जस्तै लचिलो बन्नको लागि पनि पछि नर्पने बताएका छन् । उनले यसपटक धरानमा कांग्रेसमा उभार आएकाले यो पटक कांग्रेसले जित्ने दाबीसमेत गरे । त्यस्तै मेयरका उम्मेदवार तिलक राईले अन्य पार्टीजस्तो आफूहरुले नगरवासीलाई नझुक्याउने काम गरेर देखाउने बताए । उनले पार्टीमा जनलहर आएको बताउँदै यो पटक नगरको विकास गर्न कांग्रेस तयार रहेको बताएका छन् ।
कार्यक्रममा केन्द्रीय सदस्य मिना सुब्बा, पूर्व नगर सभापति तिलक राई, उपमेयरकी उम्मेदवार श्यामा रेग्मीलगायतले बोलेका थिए । कार्यक्रमको पूर्वसन्ध्यामा धरानका विभिन्न वडाहरुबाट र्याली निस्किएको थियो ।