नारायणगढ/नारायणगढ- मुग्लिन सडक खण्डमा निर्माण कार्य जारी रहँदा सवारी दुर्घटनाका खबर रोकिएका छैनन्।
नारायणगढ-मुग्लिन सडकमा गए राती पहिरोमा परेर एउटा मालवाहक ट्रक र प्रहरीको जीप त्रिशुली नदीमा खस्दा दुई प्रहरीको मृत्यु भएको र थप दुई प्रहरी हराइरहेको अधिकारीहरुले जनाएका छन्। राती करिब १ बजेतिर उक्त सडकखण्डको काली खोला नजिक ४ किलोमिटर भन्ने स्थानमा गएको पहिरो हटाएर फर्कने क्रममा प्रहरीको जिप र ट्रक अर्को पहिरोमा परेका थिए। मुग्लिनबाट ३ किलोमिटर नारायणगढतर्फको सडकमा खसेको सो पहिरोले बगाएर प्रहरीको जीप र ट्रक दुवैलाई त्रिशुली नदीमा पुर्याइदिएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले उक्त दुर्घटनापछि हतियार सहित दुई जना प्रहरी हराइरहेको बताए। वर्षा सुरुभएसंगै नारायणगढ-मुग्लिन सडकमा पहिरोको जोखिम बढेको छ। सो दुर्घटनामा घाइते ट्रकका चालक र सहचालकको उपचार भइरहेको छ। प्रहरीको जीप त्रिशुली नदीमा हराएको छ भने ट्रकको माथिल्लो भाग पानी बाहिर देखिएको बताइएको छ। उद्धारकार्य जारी रहेकाले राजमार्गको पहिरो पन्छाउन नपाइएको र नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध रहेको प्रहरीले बताएको छ। ३६ किलोमिटर लामो नारायणगढ- मुग्लिन सडकको स्तरोन्न्तीको काम सुरु भएयता सो सडक खण्ड भएर यात्रा गर्ने सवारी चालकले सास्ती भोग्दै आएका छन्। सो क्षेत्रमा यसअघि पनि कैयौं पटक सवारी दुर्घटना भइसकेका छन्। जोखिमपूर्ण मानिने उक्त सडकखण्ड भएर दैनिक १० हजारको हाराहारीमा सवारीसाधन आवतजावत गर्ने गरेका छन्।