धरान/सिरहामा एक महिलाको हत्या भएको छ । लहान नगरपालिका १ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयभन्दा करिब ५ सय मिटर उत्तर खुल्ला चउरमा ढुंगा हानेर एक महिलाको हत्या गरी फालिएको अवस्थामा शुक्रबार बिहान शव फेला परेको छ । अन्दाजी ३५ वर्षीया तराई मूलकी महिलाको हत्या भएको हो । प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा टाउकोमा ढुंगा प्रहार गरी हत्या गरिएको देखिन्छ । टाउँको रगतले रक्ताम्मे बनेको छ । टाउँको नजिकै राखिएको ढुंगामा पनि रगत लतपतिएको छ । ती महिलाको लुगा पनि च्यातेर नाङ्गो पारिएको अवस्थामा शव भेटिएको थियो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । ईलाका प्रहरी कार्यालय लहानको टोली घटनास्थल पुगेको छ । हत्या गरिएकी महिलाको पहिचान खुल्न सकेका छैन् । बाहिरबाट ल्याएर यहाँ हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे अनुसन्धान सुरु गरिएको लहान प्रहरीले जनाए ।