म्याग्दी/ म्याग्दीका मगर समुदायले ४०० वर्षअघि गुमेको ‘ढुट’ भाषा सिक्न थालेका छन् ।

बेनीमा नेपाल मगर सङ्घले प्रशिक्षण कक्षा सञ्चालन गरेर मगर भाषा सिकाउन थालेको छ । सदरमुकाम बेनीमा बसोबास गर्दै आएका मगर समुदाय कक्षामा सहभागी भएर ढुट भाषा सिक्न थालेका हुन् । सांसद नवराज शर्माको सिफारिसमा निर्वाचन क्षेत्र विकास कार्यक्रमको रु एक लाख ५० हजार सहयोगमा असार ५ गतेदेखि १५ दिने भाषा कक्षा सञ्चालन गरिएको हो । मगर समुदायलाई आफ्नो मौलिक भाषा सिकाएर लोप हुन नदिने उद्देश्यले कक्षा सञ्चालन गरिएको सङ्घका सचिव लोकेश पुनमगरले जानकारी दिए । मल्लकालमा तत्कालीन राज्य सञ्चालकले फरकफरक भाषा बोल्दा गोपनीयता भङ्ग हुने, सुरक्षामा असर र सूचना आदानप्रदान गर्न असहज भएको भन्दै मगर भाषा बोल्न प्रतिबन्ध लगाएका थिए । १८ मगरात क्षेत्रअन्तर्गत पर्ने म्याग्दी र बागलुङमा सन १६०० मा आफ्नो भाषा बोल्ने मगर समुदायलाई दण्ड, जरिवाना गर्न थालिएपछि बोलीचालीमा प्रयोग गर्न छाडेका थिए । त्यसयता मगर भाषा बोलीचालीको प्रचलनमा छैन । आफ्ना पुर्खाले बोलेको, लोप भइसकेको भाषा सिक्न र बुझ्न पाउँदा खुसी लागेको प्रशिक्षणमा सहभागी रघुगङ्गा गाउँपालिका–४ दग्नामका धनीलाल गर्बुजाले बताए । नयाँ भएकाले सिक्नलाई अप्ठ्यारो लागेको गर्बुजाले अनुभव सुनाए । युवा, युवती र प्रौढले भाषा सिक्न चासो देखाएका छन र ८० जनाले भाषा सिकिरहेका छन् । दैनिक जीवनयापनमा प्रयोग हुने शब्द सिकाउने गरिएको छ । यसअघि बरङ्जा, राम्चे, सिङ्गा तातोपानी, कुुहँ, हिस्तानका मगर बस्तीमा पनि भाषा सिकाउन कक्षा सञ्चालन गरिएको थियो । मौलिक भाषाको पाठ्यक्रम लागू भएका विद्यालयका शिक्षकलाई भाषासम्बन्धी आधारभूत तालिम दिइएको थियो । सङ्घका सचिव पुनले विसं २०६५ मा पाठ्यक्रममा आधारित मगर भाषाको ‘कानुङ ऐजु काठ’ र ‘कानुङ ऐजु कर’ नामक पुस्तक प्रकाशन गरेका थिए । विसं २०६८ को जनगणना अनुसार एक लाख १३ हजार जनसङ्ख्या रहेको म्याग्दीमा ४३ प्रतिशत मगर समुदायको बसोबास छ । म्याग्दीको बस्तीको नामाकरण र बोलीचालीमा मगर भाषाको लवज आउने गरेको बताइन्छ । रासस