काठमाडौँ/ पत्रकार थमबहादुर रजाली मगरले पत्रकारिता पेसाको अलवा अन्य कुनै पेसा गर्नुहुन्न भन्ने धारणा राख्नेलाई गलत सावित मात्र गरेनन्, यसवर्षको उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारसमेत हात पारेका छन् ।
पत्रकार श्रमजीवी हुन्, अरुको पब्लिकेशन हाउस वा मालिकको सञ्चार गृहमा काम गर्ने वर्ग (मजदुर) पत्रकार हो भन्ने परिभाषालाई उल्टाई दिएका मगरले थोरै लगानी र थोरै समयमा वार्षिक र २० लाख आम्दानी गरेका कारण कृषि विकास मन्त्रालयले रु एक लाख धनराशि प्रदानगरी गत बिहीबार सम्मान गरेको हो ।
चितवन जिल्लास्थित शान्ति एकेडेमीबाट चार वर्ष पहिले आमसञ्चार (पत्रकारिता) विषयमा स्नातक उतीर्ण गरी रजालीले चितवनस्थित सिनर्जी एफएममा समाचारदाताको पदमा एक वर्ष काम गर्दा उनले जीवन चलाउन सकेनन् । अन्ततः उनले इन्दिरादेवि मुग्मी रजालीसँग २०६८ सालमा विवाह गरे । त्यसको केही समयपछि उहाँको वैदेशिक यात्रा तय भयो, रोजगारका लागि जापान । जापान जानका लागि रु १२ बाह्र लाख ऋण लाग्नेभएपछि इन्दिराले थमबहादुरलाई विदेश जानबाट रोके ।
ऋणको सावा व्याज तिर्न गाह्रो हुने बताएपछि २०६८ सालबाट हुप्सेकोट, बेलहानी रजाली टोल नवलपरासीमा ५० कठ्ठा जग्गामा थोपा सिँचाइ प्रविधिबाट तरकारी खेती गर्न जुटे मगरजोडी । छ वर्ष पहिले इन्दिरा र थमबहादुरको संयुक्त प्रयासबाट सुरुभएको मेहनतको परिणाम बिहीबार सिंहदरबारमा देखियो । नवलपरासीको एक गाउँमा दैनिक कुटो कोदालेमा खेल्ने इन्दिराका पति थमबहादुरले रु एक लाख धनराशिको राष्ट्रपति पुरस्कार हात थाप्दा इन्दिराका आँखाबाट हर्षका आँशुझरेको थियो ।
सिंहदरबारभित्रको एउटा ठूलो कोठाभित्र राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठ, कृषि विकास मन्त्रालयका सचिव डा सुरज पोखरेल, पशुपक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिशीको संयुक्त हातबाट सो राशिको पुरस्कार थमबहादुरले हात पारेका हुन् ।
कृषि पेसा सुरु गर्न थमबहादुरलाई इन्दिराले कानमा लगाएको गहना बिक्री गरेर रु १७ हजार, सासु राममाय सुनारीले पाँच हजार र दिदी होमा रजालीले रु २५ हजार दिनुभएको थियो । कुल रु ४७ हजारबाट थमबहादुरले कृषि कर्म सुरु गरेका थिए ।
चारवर्ष अघिदेखि लगातार राष्ट्रपतिको हातबाट वितरण हुँदै आएको राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कारको धनराशि यसवर्ष राष्ट्रपति विद्यादेवी भण्डारी स्वीटजरल्याण्डको जेनेभामा १०६ औँ, अन्तर्राष्ट्रिय श्रमसम्मेलनमा देश बाहिर रहेएकाले थमबहादुरले मन्त्रालयका पदाधिकारीको हातबाट यसवर्षको राष्ट्रपति कृषक पुरस्कार लिनुपरेको हो ।
सिनर्जी एफएममा काम गर्दा अभावमा जीवन चलाएका थमबहादुरले पत्रकारिता पेसालाई वैकल्पिक रुपमा लिएका छन् । फुर्सदको सयममा चितवन पोस्ट र बुटवल टुडे पत्रिकामा कृषि र प्रविधि तथा कृषि अर्थतन्त्रका बारेमा लेख्ने गरेको छु उनले भने ।
युवालाई थमबहादुरले, “हिरामाथि बसेर सुन खोजिरहेको जमात भन्नुभएको छ । नेपालमा कृषिको व्यापक क्षेत्र तथा सम्भावना छ तर कृषि कर्म गर्न छोडेर यहाँका युवा अन्यत्र रोजगारमा जानु व्यर्थ रहेको टिप्पणी गर्नुभयो ।”
नेपाल पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना पब्लिकेशन हाउस वा सञ्चार गृहले तलब (पारिश्रमिक) नदिएको बेला पत्रकारसमेत रहेका थमबहादुरले समयमा नै कृषि पेसा रोजेका समस्त युवा पत्रकारलाई झस्काएको बताए ।
कृषि पेसालाई समाजको आकर्षक एवम् सम्मानित पेसाका रुपमा स्थापित गर्न सहयोग पु¥याने उद्देश्यबाट आब २०७०-०७१ देखि निरन्तर रुपमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण हुँदै आएको छ । रासस