तेह्रथुम/ तमोर नदीको किनारमा बस्दै आएका तेह्रथुम र पाँचथरका माझी समुदायको पुख्र्यौली पेसा संकटमा परेको छ । नदीमा पैदल यात्रीका लागि झोलुंगे पुल र सवारी साधन आवागमनका लागि पक्की पुल निर्माण भएपछि उनीहरुको डुंगा चलाउने पेशा ठप्प छ । धमाधम खोलामा पुल बन्न थालेपछि खोलामा माछा समेत पर्याप्त पाइँदैन । माछा मारेर पनि जिविकोपार्जन नहुने भएपछि माझीहरु जिविकोपार्जनका लागि वैकल्पिक बाटो अपनाउन थालेका छन् । यतिबेला देशमा स्थानीय चुनावको रौनक छ । तर माझी समुदायलाई त्यसले छोएको छैन । उनीहरुले कतैपनि उम्मेदवारी पनि पाएका छैनन् । आफूहरुलाई चुनावले नछोएको छातेढुंगाका शिवनारायण माझीले बताउनुभयो । पुख्र्यौली पेशा मासिएपछि आफूहरुलाई यतिबेला चुनावको भन्दा पनि बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ता रहेको उनले बताए ।
माछा मार्ने, डुंगा चलाउने, डुंगा बनाउने, भारी बोक्ने आदि काम गर्दै आएका यहाँका माझीहरु पुख्र्यौली रुपमा गर्दै आएका ती पेशा मासिदै जाँदा जिविकोपार्जनमै समस्या हुन थालेको बताउँछन् । तमोर नदीको किनारमा रहेका तेह्रथुम र पाँचथरका माझीटार, ढोडेनी, पिनासी, लिम्बुनी पुल घाट, लुम्बु घाट, स्याबरुम्बा, नक्कलेघाटलगायतका ठाउँमा बसोबास गर्दै आएका माझीहरु बिस्थापित हुन थालेका छन् । उनीहरु खेतीपाती र अन्य रोजगारीका लागि बसाईँ सर्न थालेका छन् । यहाँका माझीहरु खोलामा माछा मार्ने, डुंगा चलाएर बाटो हिँड्ने मानिसहरुलाई वारी–पारी तार्ने, भारी वारी– पारी तारिदिने आदि काम गर्दै गुजारा चलाउने गर्थे । तमोर नदीको माझीटार घाटमा मोटरेबल पुल बनेपछि सडकबाट मानिसहरु आवत–जावत र सामान ढुवानी हुन थालेको छ । खोलामा विद्युतीय करेन्ट तथा विषादीको प्रयोग गरी अरूले पनि माछा मार्दा नदीमा माछा नै पाउन छाडेको छ । बाढी र पहिरोले पनि माछा मारिदिएकाले माछा पाउन छाडेको स्थानीय बताउँछन् । विकल्प खोज्दै माझी समुदाय माछा पाउन छाडेपछि यहाँ सयौंको संख्यामा रहेका माझीहरु वेरोजगार बनेपछि अन्य पेशा अपनाउन थालेका छन् । पुख्र्यौली पेशा मासिएपछि माझीहरु पनि खेतीपाती, मजदूरी र परदेशतिर जान थालेका छन् । तमोर किनारमा तेह्रथुम र पाँचथरमा मात्रै गरी झण्डै तीन सय घरधुरी माझीहरु बसोबास गर्दै आएका छन् । धेरै जसो माझीहरु अहिले खेतीपातीमा लागेका छन् । जग्गा नभएकाहरु पनि नदी किनारबाट माथिल्लो क्षेत्रमा जग्गा भाडामा लिएर, अधियाँ, कुँदियाँ तथा बन्धकी लिएर खेती गर्न थालेका छन् । पुख्र्यौली पेशा मासिए पछि माझीहरु लाई गुजारा चलाउन अन्य पेशा विकल्पका रुपमा अपनाउनु परेको छ । पुख्र्यौली पेशा संकटमा परेपछि माझीहरुको रोजीरोटी नै खोसिएको छातेढुंगाका शिवनारायण माझीले बताए । ‘अहिले खोलामा माछा कम मात्रै पाउँछ, हामीले दिनभरि खोलामै बिताउँदा पनि एक किलो माछा समेत पाउन छाड्यौं, कमाई पनि ठप्प छ’ शिवनारायण माझीले भने । माछा मार्ने काम ठप्प भएपछि माझी युवाहरु जाल, थकौली र बल्छी थन्क्याएर रोजगारीका लागि देश परदेश जान थालेका छन् । काम गर्न सक्ने युवाहरुले घर छाडेपछि गाउँमा भने केटाकेटी र बुढाबुढीहरु मात्र रहेको पाँचथरको स्याबरुम्बास्थित लुमुघाटकी दिलकुमारी माझीले बताए । ‘तमोर किनारको बास छ, खेती गरौँ जग्गा जमीन छैन’ दिलकुमारीले भन्नुहुन्छ ‘दुई छाक टार्ने माछापनि बाढीले बगाएपछि माझीहरुको बिचल्ली भयो, जसोतसो जिउनै प¥यो, त्यसैले युवायुवतीहरु कमाउन परदेशिन थालेका छन् ।’ तमोरमा डुंगा चलाई गुजारा गर्ने माझीका लागि नक्कले, सिम्रा, पिनासी, माझीटार र लुमुसहित अधिकांश घाटमा पुल बनेपछि चिन्ता थपिएको माझीटारका जसबहादुर माझीले बताए । ‘नाउ चल्ने घाटहरुमा पुल, नदी किनारासम्मै मोटरबाटो समेत पुग्न थालेपछि गढतीरमा माछा मार्न जो–कोही पुग्ने गरेका छन् । यसले पनि माझीको पुख्र्यौली पेशा जोखिममा पारेको छ । आफ्नै खेतीपाती गर्ने जग्गा जमिन छैन’ जसबहादुरले भन्नुभयो ‘पुल बनेपछि नाउ थन्क्यायौं, नदीमा माछा पनि पाउँदैन, अब के गरिखाने हो रु समस्या छ ।’ यहाँका माझीहरुमध्ये अधिकांशको व्यवसाय माछा मारेर बिक्री गर्नु नै थियो । उनीहरुले मारेका माछा किन्न ग्राहक घर–घरमा जाने गर्थे भने केही माझीहरुले नजिकका बजारमा बिक्री गर्न ल्याउने गरेका थिए । परम्परागत रुपमा नाउ तार्ने र माछा मार्ने पेशा अँगाल्ने माझीहरुका दुईवटै पेशा विस्थापित हुँदै गएपछि माझीहरुको अवस्था भने दयनीय बनेको छ । लोप हुने अवस्थामा पुगेका माझीहरुलाई पनि राज्यले उचित शिक्षादिक्षा र समान अवसर दिएर न्याय गर्नुपर्ने स्थानीय बासिन्दा जयकुमार माझीले बताए । माझीलाई सरकारले अल्पसंख्यकको सूचिमा राखेको छ । अल्पसंख्यकहरु गाउँपालिका वा नगरपालिकाको गाउँसभा र नगरसभाको चुनावपछि बन्ने गाउँकार्यपालिका र नगर कार्यपालिकामा गाउँसभा र नगरसभाबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्था छ । माझीहरुका दुःखसुख जसले बुझ्छ उसैलाई भोट दिने माझी समुदायको तयारी छ । धेरैले पार्टी भन्दा पनि आफूहरुका लागि योगदान गर्ने, गाउँमा विकास ल्याइदिने नेतालाई मतदान गर्ने कुरा गरेका जयकुमारले बताए ।