खुकुरी हानेर दाइको हत्या, गेस्टहाउसमा युवतीको हत्या
- वैशाख २५, २०७४
- ब्लाष्ट खबर
आफूलाई खराब भनेर टिप्पणी गरेको प्रतिशोधमा एक युवकले मामाका छोराको निर्मम हत्या गरेका छन् । पोखरा स्थायी घर भई भक्तपुर कौशलटार बस्ने २७ वर्षीय पारस कोइरालाले सौरव सुवेदीको हत्या गरेका हुन् । आइतबार बिहान साढे ७ बजे उनको हत्या भएको हो । झापा स्थायी घर भएका सुवेदी नेपाल एसबीआई बैंंकमा कार्यरत थिए ।
छोरालाई खाना खुवाउँदै गर्दा खुकुरी प्रहार
सुवेदी आफ्नै घरमा आइतबार बिहान १० वर्षीय छोरालाई खाना खुवाइरहेका थिए । उनकी श्रीमती किचेनमा काम गरिरहेकी थिइन् । रेकी गरेर सुटुक्क घरमा छिरेका कोइरालाले पछाडिबाट खुकुरीले पटक–पटक आक्रमण गरी सुवेदीलाई गम्भीर घाइते बनाएका थिए । उपचारका लागि बी एन्ड बी अस्पताल पु¥याउँदै गर्दा सुवेदीको बाटामैमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त ठिमीका डिएसपी श्यामबाबु ओलियाले बताए । खुकुरी आक्रमणबाट सुवेदीको टाउकोमा गम्भीर चोट लागेको थियो भने एउटा हात नै छिनेको थियो ।
मोटरसाइकलमा भाग्दै गर्दा धादिङमा पक्राउ
हत्यापछि मोटरसाइकलमा भागेका कोइरालालाई प्रहरीले धादिङको गजुरीबाट पक्राउ गरेको छ । हत्याको तीन घन्टापछि नै प्रहरीले उनलाई गजुरीमा पक्राउ गरेको हो । बा.६०प ४३१६ नम्बरको मोटरसाइकलमा भाग्दै गर्दा उनी पक्राउ परेका हुन् । साढे ८ बजे प्रहरीले उनी थानकोट पुगेको थाहा पायो । त्यसपछि धादिङको प्रहरीलाई खबर गरी उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका कोइराला डिप्रेसनका रोगी भएको र उनी लागुऔषध दुव्र्यसनीसमेत भएको प्रहरीले जनाएको छ । ‘आफूलाई सधैँ बिग्रेको केटा भनेर होच्याएकाले रिसमा हत्या गरेका अभियुक्त कोइरालाले बताएका छन्,’ ठिमी वृत्तका डिएसपी ओलियाले भने । प्रहरीका अनुसार सुवेदीमाथि शनिबार बेलुका नै कोइरालाले आक्रमण प्रयास गरेका थिए । तर, घरमा नभेटेपछि उनी फर्किए ।
सुध्रन दिएको सुझाब नै सुवेदीको मृत्युको कारण
झोलामा पासपोर्टसमेत राखेर उनी भागेकाले विदेश जान लागेको हुन सक्ने प्रहरी आशंका छ । पक्राउपछि उनले आफूले हत्या गरेको स्विकारेका छन् । कर्तव्य ज्यान मुद्दामा उनीमाथि प्रहरीले कारबाही अघि बढाएको छ । जसमा उनलाई २० वर्षसम्म कैद सजाय हुन सक्छ ।
उनी खराब गतिविधिमा संलग्न रहेको उनका परिवारले जनाएका छन् । सोही कारण सुवेदीले उनलाई सुध्रन गाली गर्दै आएका थिए । तर, त्यही गाली उनको मृत्युको कारण बन्न पुग्यो । स्नातक तहमा भर्ना गरे पनि कोइरालाले पास गरेका थिएनन् । उनको डेराबाट प्रहरीले खुकुरीको डोब र गाँजा बरामद गरेको छ । कौशलटारमा समेत घर भएका उनका बाबु सरकारी कर्मचारी हुन् ।
गेस्टहाउसमा युवतीको हत्या
कोटेश्वरको एक गेस्टहाउसमा युवतीको हत्या भएको छ । आकासेपुलस्थित होटेल होम गेस्टहाउस एन्ड रेस्टुरेन्टमा काभ्रे महांकालचौर–८ घर भएकी २८ वर्षीया लक्ष्मी तामाङको हत्या भएको हो । होटेलमै बसेका विष्णु सापकोटाले उनको हत्या गरेको प्रहरी आशंका छ । सापकोटाले आइतबार बिहान आफू केही समय एयरपोर्ट गएर आउने बताएका थिए । तर, दिउँसो नआएपछि उनी बसेको कोठा खोलेर हेर्दा तामाङको शव भेटिएको थियो । उनको शवमा निलडाम रहेकाले हत्या नै गरिएको प्रहरीले जनाएको छ । सापकोटा कोठामा बाहिरबाट ताला लगाएर निस्किएका थिए । होटेल बुक गर्दा उनले तामाङ आफ्नी श्रीमती भएको बताएका थिए ।
होस्टेलमै आत्महत्या
मध्यबानेश्वर मिलनचोकस्थित सेरभ गल्र्स होस्टलमा एक युवतीले आत्महत्या गरेकी छन् । सिन्धुपाल्चोक ठुलीपाखर घर भएकी १८ वर्षकी स्वस्तिका दासले शनिबार आत्महत्या गरेकी हुन् । होस्टलको दोस्रो तलाको कोठामा पंखाको हुकमा झुन्डिएको अवस्थामा उनी फेला परेको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी नारायण चिमोरियाले बताए ।नयाँ पत्रिकाबाट