काठमाडौं । ‘भोट हालौं ट्रीमा मासु रक्सी फ्रिमा’ यो कांग्रेसविरुद्ध सामाजिक सञ्जालमा चर्चामा आएको ट्रोल हो । उता ‘चुनाव चिह्न भनेको त रूख पो हुनुपर्छ, जाबो सूर्य त चुरोट पनि हुन्छ नि’ भनी एमालेलाई उडाइएको छ ।’ नेट किन स्लो छ भनेको त गाउँगाउँमा माओवादी केन्द्रले फ्रि वाइफाई राखेर पो रहेछ,’ एक दलमा आस्था राख्नेले अर्को दललाई यसरी गाली गर्ने काम सामाजिक सञ्जालमा यति बेला छ्यापछ्याप्ती देखिएको छ ।
व्यक्तिविशेषले सामाजिक सञ्जालमा लेखेका ट्विट, ट्रोल तथा स्ट्याटसका यी केही उदाहरणहरू हुन् । सामाजिक सञ्जालमार्फत नकारात्मक सन्देश मात्र फैलिएका छैनन् ।
वैशाख ३१ मा हुने पहिलो चरणको स्थानीय चुनाव प्रचारप्रसार यसपटक सामाजिक सञ्जालमैत्री भएको छ । यो चुनावमा दलहरूले उम्मेदवारको नाम घोषणामा ढिला गर्दा घरघरमा पुगेर भोट माग्ने अवस्था देखिएन ।
कुन ठाउँबाट कुन दलको को उम्मेदवार उठेको छ, मतदातालाई पूर्ण जानकारी छैन । दलप्रतिको आस्थाको भरले भोट हाल्ने मानिसको संख्या ठूलो हुने अनुमान गर्न सकिन्छ ।
यस्तो अवस्थामा सामाजिक सञ्जाल फेसबुक, ट्विटर र युट्युबलाई दलले आफूले उठाएको एजेन्डा र उम्मेदवारले आफ्नो उम्मेदवारीको जानकारी गराउने माध्यम बनाएका छन् ।
यो वर्ष राजनीतिक दलका नेताले फेसबुकमार्फत प्रत्यक्ष रूपमा लाखौं भोटरलाई सम्बोधन गरे । कांग्रेसले आफ्नो घोषणापत्रबारे जानकारी लिन चाहनेलाई फेसबुकको लाइभ टुलमार्फत जानकारी दियो ।
साझा पार्टीले पनि फेसबुक लाइभ टुललार्ई प्रयोगमा ल्यायो । काठमाडौंको भविष्य समाल्न साझा पार्टीले दिएको विकल्प कस्तो हो भन्ने जानकारी दिन फेसबुक लाइभलाई प्रयोगमा ल्याएको छ ।
यी केही उदाहरण मात्र हुन् । राजनीतिक दलका नेताले चुनाव प्रचारका लागि विभिन्न सामाजिक सञ्जाललाई बढी नै प्रयोगमा ल्याएको देखिएको छ ।
फेसबुक, ट्विटर र युट्युबको बढी प्रयोग भएको छ ।टोलटोलमा देखिने चुनावी चहलपहल यसपटक सामाजिक सञ्जालमा देखिएको छ ।
सामाजिक सञ्जालको उत्कृष्ट प्रयोग विवेकशील नेपाली दलले गर्यो । अन्य पार्टीको तुलनामा चाँडै उम्मेदवार घोषणा गरी सामाजिक सञ्जालमा ठूलो पहुँच रहेका युवामाझ प्रचार गर्यो ।
विवेकशील नेपाली पार्टीले काठमाडौं मेयरमा उठाएकी २१ वर्षीया युवती रञ्जु दर्शना (न्यौपाने) को नाम कमैले सुनेका थिए । तर अहिले उनी चर्चामा छिन् ।
सबैभन्दा सानो उमेरमा चुनावमा सहभागिता जनाउनु उनका लागि चर्चाको एउटा कारण होला । सामाजिक सञ्जालबाट योभन्दा बढी चर्चा भइरहेको छ । सामाजिक सञ्जालमा नजोडिने सर्वसाधारणबीच उनी अझै गुमनाम छिन् ।
सामाजिक सञ्जालमै उनीबारे सकारात्मक तथा नकारात्मक कुरा आएका छन् । एकातर्फ उहाँको उम्मेदवारीलाई सामाजिक सञ्जालमा सबैले साहसका रूपमा हेरेका छन् भने अर्कोतर्फ उनको भाषणको शैली र भाषामा दलका नेतालाई गाली गर्ने संस्कारलाई लिएर आलोचना भइरहेका छन् ।’
एकले अर्कालाई यसरी नै गाली गर्ने भए नयाँ पुस्ताको नयाँ उम्मेदवार कसरी मान्नेु, ‘शब्द चौतारी’ ले ट्विट लेखेका छन् ।सामाजिक सञ्जाल दलको प्रचार थलो मात्र नभएर सर्वसाधारणले पनि आफ्नो अभिव्यक्तिको माध्यम बनाएका छन् यसलाई ।
स्थानीय चुनावले सामाजिक सञ्जालमा दलभन्दा पनि सर्वसाधारणलाई क्रियाशील बनाएको जस्तो लाग्छ । चुनावसम्बन्धी दलका निर्णय र प्रभाव सामाजिक सञ्जालमा तत्कालै देखिन्छन् ।