६० वर्षको उमेरका एक वृद्धा, ४२ डिग्रीको लू चलेको बेला पनि भैरहवाका हरेक पत्रिकाको कार्यालयमा ओहोर दोहोर गरिरहेका देखिन्छन् । उनी हेर्दा बुढो देखिएता पनि उनको साहस र जोश १६ वर्षे तन्नेरीको भन्दा कम छैन ।

विहान सांझ टिभी समाचार हेर्ने, दिउंसो पत्रपत्रिका पढ्ने र पत्रकारहरुसंग भेटघाट गर्ने उनको दैनिकी छ । ०३६ सालदेखी ०४६ सालसम्म सक्रिय पत्रकारिता गरेका भैरहवा निवासी विष्णु बहादुर बोहरा पत्रकारिता क्षेत्रका जिउंदा सहिद हुन् भन्दा अन्यार्थ नलाग्ला । पन्चायतकालमा पन्चहरुले सोझासाझा जनतामाथी गरेको थिचोमीचो सहन नसकी त्यसको भण्डाफोर गर्ने ध्ययेले पत्रकारीतामा रुची देखाएका बोहरालाई वरिष्ठ पत्रकार बालकृष्ण चापागाईको संगतले पत्रकार बनायो ।

भैरहवाबाट प्रकाशित हुने दैनिक निर्णयमा ०३६ साल ताका सम्बाददाताको रुपमा काम गरेका उनी रामचन्द्र भट्टराइ, प्रताप कुमार भट्टचन, बालकृष्ण चापागाइ, बसन्त पोखेरेल, गोविन्द वर्तमान संग काम गर्दाको क्षण स्मरणीय भएको बताउंछन् । त्यतिबेला पत्रकारहरु पन्चायत विरुद्ध केही लेख्दा वित्तिकै पुर्ण असुरक्षीत हुने गरेको तर त्यतिबेलाका पत्रकार निडर रहेको जीकिर गरे ।

उनले त्यतिबेलाको एउटा घटना सुनाउदै भने ‘भैरहवामा त्यतिबेला मण्डलेहरुको विगविगी थियो । पत्रकारहरु धेरै थिए तर अधिकांश मण्डलेहरुको चाकाडीं र चाप्लुसींमा दिन विताउंथें । हामीहरु अन्याय अत्याचार र शोषणको विरुद्धमा थियौं । एक दिन मैले पडसरी स्थित कृर्षी फारमको हाकिमले गरेको अनियमीतताको समाचार लेखे । समाचार निस्केको केही समयमै हाम्रो अफीसमा १५, २० जना मण्डलेहरु आए र मलाई लछारपछार गरे । नारयणस्थानमा हाम्रो कार्यलय थियो । त्यहि बेला हाम्रो सम्पादक प्रताप कुमार भट्टचन नआएको भए सायद तीनिहरुले मलाई के गर्थे । भट्टचनले उसलाई केही नगर जे गर्नुछ मलाइ गर भनेपछि मलाई कठलो समाइरहेकाहरुले छाडीदिए । अनि उनीहरु हामीलाई तथानाम गाली गर्दै अब उप्रान्त त्यस्तो समाचार नलेख्न धम्काउदैं फर्किए ।‘

बोहराले विगतमा पत्रकारीता झनै असुरक्षीत भएको बताउदै भने ‘मलाई त्यसरी कार्यलयमै आएर हातपात गर्दा पनि म डराईन् । हाम्रो सम्पादकले झन साहस र उत्साह दिनुभयो । मासिक ८ सयमा पत्रकारिता गर्ने हामीहरुलाई खान लाउन पुग्थ्यो । तर भैरहवामा मण्डलेहरुका नाइके दिपक बोहरा (हाल मन्त्री) का भरौटेहरुले असाध्यै दुखः र धम्की दिएता पनि हामीहरु कहिल्यै डराएनौं ।‘

दिनभर साइकलमा यताउता हिडेंर समाचार संकलन गर्ने त्यतिबेलाको नियमीत घटना सम्झिदैं उनले भने ‘पन्चहरुले दिनहूं हामीहरुलाई कि पत्रकारीता छोड, गर्ने भए हाम्रो पक्षमा लेख भन्दथें तर हामीले पत्रकारिताको आचारसंहिता विपरित कहिल्यै काम गरेनौं ।’

पत्रकारको लागी पद, पैसा र प्रतिष्ठा भन्दा जनताको सेवा ठूलो भएको जीकिर गर्ने बोहरा ०३७ साल असोज महिनामा छपीयामा भएको घटनाका मतियारहरु बारम्बार मन्त्री भइरहेको तर आफुहरुको जीवनस्तर जहाको त्यहि रहेको भने गुनासो गरे ।

उनले त्यतिबेलाको घटनावृतान्त सुनाउदै भने ‘०३७ साल असोज महिनामा छपीयामा सास्कृतिक कार्यक्रम थियो । त्यहां मैले मोदनाथ प्रश्रितले लेखेको गीत ‘जुटेमा हामी मिलेर उठें संसारै हल्लीन्छ , फुटेमा हामी पस्केको भाग अर्कैले खोसीदिन्छ । गरिबको दुखः गरिबले बुझ्छ, धनीले बुझ्दैन, सर्पको खुट्टा सर्पले देख्छ, अरुले देख्दैन ।’ भन्ने गीत गाए । त्यसपछि प्रदीप नेपालले लेखेको ‘एक लस्कर भरीयाहरु‘ नाटक प्रदर्शन भइरहेको थियो । त्यसमा अमर जि.सी, विष्णु बोहरा, राजन भुसाल, जंग बहादुर पल्ली, पम्फा खनाल (बालकृष्ण चापागाईको श्रीमति), शारदा भुसाल, तुलसी गौतम( बामदेव गौतमको श्रीमति) लगायत कलाकार थियौं । त्यहि बेला मण्डलेहरुको एक जत्थाले हामी माथी एक्कासी हमाला गर्यो । प्रहरीले उनीहरुकै पक्षबाट हामीमाथी सांघेतिक हमला मात्रै गरेन । गोली समेत चलायो । गोली लागेर १४ वर्षिय तारापति भट्टराइको देहावसन हुन पुग्यो । म समेत मरणासन्न हुनेगरी कुटींए । ‘

छपीयामा कार्यक्रममा सहभागी हुदां निर्घात कुटपीटमा परी कानको जाली फुटेको बताउने बोहराले दिपक बोहराकै निर्देशनमा त्यहां हमला भएको आरोप लगाउंछन् । उनी भन्छन् ‘त्यतिबेला मण्डलेहरुको नाइके दिपक बोहरा थिए । रुपन्देहीमा जे जत्ति अपराध हुन्थ्यो बोहराकै निर्देशनमा हुन्थ्यो । हामीले बोहराको कति विरोध गर्यौं । उनीहरुलाई पदच्युत गर्न पन्चायत विरुद्ध ज्यानको पर्वाह नगरी, मण्डलेहरुको अत्यचारको विरुद्ध निरन्तर लेखीरहयौं, जनताको साथमा रहेर बहुदल ल्यायौं । विडम्बना अहिले गणतन्त्रमा पनि त्यतिबेला जनतामाथी अत्याचार गर्नेहरु मन्त्री बनेर झन्डा हल्लाउदै घुमिरहेका छन् भने यो देशको विकास कसरी हुन्छ ?’

पन्चहरुको शोषण र अत्याचारको विरुद्ध निरन्तर लाग्दा आफुले धेरै पीडा र दुखः कष्ठ सहनुपरेको जनाउदैं अग्रज पत्रकार बोहराले पन्चायतकालमा जसरी पत्रकार असुरक्षीत थिए त्यसैगरी अहिले पनि असुरक्षीत भएको दाबी गरे ।

उनले भने ‘अहिले पनि मुलुकमा पूर्व मण्डलेहरुकै हालीमुहाली छ । हिजो खुलेआम धम्काउनेहरु अहिले घुमाउरो ढंगले जनताको शोषण गरिरहेका छन् । म बाचुन्जेल तिनीहरुले गर्ने कर्तुतको विरोध गरिरहन्छु । मैले मण्डलेहरुको कुटाइबाट आफ्नो कानको श्रवणशक्ति गुमाए तर हिम्मत र विश्वास गुमाएको छैन ।’

आफ्नो विगत र वर्तमान सुनाउदैं पत्रकार बोहराले पत्रकार सधैं जनमूखी, निर्भयी र प्रगतिशील हुनुपर्ने सुझाब समेत दिए । उनले जसरी पन्चायतकालमा केही पीत पत्रकारहरुको कारण सज्जन र इमान्दारहरुले दुखः पाए त्यसैगरी अहिले पनि त्यो श्रृंखलाले निरन्तरता पाएको बताए ।

दैनिक औषधी सेवन गर्नुपर्ने अवस्थामा रहेका उनी आफ्नो श्रवणशक्तिको कमी र स्वास्थ्यको समस्याको कारण सक्रिय पत्रकारितामा छैनन तर पत्रकारितालाई नजिकबाट नियालीरहेको बताउंछन् । जीवनभर समाज परिवर्तनकोलागी काम गरेता पनि राज्यबाट खासै सहयोग नपाएका उनलाई पत्रकारितामा प्रवेश गराउने अग्रज पत्रकार बालकृष्ण चापागाईले औषधी उपचारकोलागी बेलाबेला आर्थिक सहयोग गर्दै आएको सम्झिदै भन्छन्‘यो संसारमा पत्रकारको मर्म बुझ्ने पत्रकार मात्रै हुन्छ । तपाई हामीलाई स्वार्थीहरुको झुण्डले केही समय प्रयोग गर्नकोलागी खुवाउने पीलाउने मख्ख पार्ने गर्छन तर परेको बेला कहिल्यै काम लाग्दैनन । त्यस्ता व्यक्तिबाट पत्रकार सधैं सजग रहनुपर्दछ ।’राताेपाटिबाट