सर्लाही/ जिल्ला प्रहरी कार्यालय सर्लाहीले मोटरसाइकल चोरीमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिकसमेत गरेको छ ।

पक्राउ पर्नेमा मलंगवाका उमेशकुमार साह, औरहीका रवीन्द्र राय र नवल राय रहेका छन् । उनीहरूले १ वैशाखको राति मलंगवाको नेपाल भारत लज अगाडिबाट भारतीय नम्बर प्लेटका तीनवटा मोटरसाइकल चोरी गरेका थिए ।

मोटरसाइकल मलंगवाबाट भारतको कनौलीतर्फ लाँदै गर्दा उनीहरू पक्राउ परेको सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताए ।

त्यस्तै, भरतपुरका रामप्रवेश महतो, लक्ष्मीनियाका नारायण यादव र उदय यादवलाई पनि सार्वजनिक गरिएको छ । उनीहरूबाट चोरीको ज.२प ३२६५, ज.४प ३७८, ना.२८प ८६६३ नम्बरको मोटरसाइकल र बा.४८प ४४७१ नम्बरको स्कुटर बरामद भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चोरीमा संलग्न सबैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सुवेदीले बताए ।

जिल्लाको लालबन्दी, हरिऔन, मलंगवालगायतका बजार क्षेत्रमा केही सातादेखि मोटरसाइकल चोरीका घटना बढ्न थालेका छन् ।

मोटरसाइकल चोरीको घटना बढेसँगै सर्लाही प्रहरीले यस क्षेत्रमा सतर्कता अपनाएको जनाएको छ । सुवेदीका अनुसार चोरीका अधिकांश मोटरसाइकल भारततर्फ लाने गरेको पाइएको छ ।