धरान/ भारू ११ लाख १० हजार रुपैयाँसहित पक्राउ परेका दुई जनालाई अनुसन्धान नगरी सशस्त्र प्रहरीले छाडिदिएको रहस्य खुलेको छ ।

भारू रुपैयाको कारोबारीमा चिनिने भद्रपुर ६ का २४ वषिर्य रविन घोष र २३ वर्षिय केशव भन्ने मनोज राजबंशीलाई नगदसहित सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाले पक्राउ परेको भोलिपल्ट अर्थात चैत २६ गते बेलुका अनुसन्धान नगरी छाडिदिएको हो । सशस्त्र प्रहरीले भद्रपुर ५ स्थित घोडामाराको हडिया पुलबाट नेपालमा प्रतिबन्धित २ हजार र ५ सयको नोट सहित पक्राउ गरेको थियो ।

विशेष सुराकीको आधारमा भारतबाट नेपालतर्फ आउदै गरेको मे ६ प. ६१२९ नम्बरको मोटसाइकलमा सवार पक्राउ परेका घोष र राजवंशीको शरिर चेकजाच गर्दा सशस्त्र प्रहरीले २९५ वटा २ हजार र १०४ वटा ५ सयको भारतीय नोट बरामद गरेको थियो ।

सशस्त्र प्रहरीले भारतीय रुपैया, मोटरसाइकल, एटीएम कार्ड बरामद गरेको थियो । नोट र युवकद्धयलाइ अनुसन्धानको लागी राजश्व अनुसन्धान विभाग काठमाण्डौ पठाउने भनी शसस्त्र प्रहरी वल सीमा सुरक्षा कार्यालय भद्रपुरका डिएसपी राजेश उप्रेतीले सञ्चारमाध्याम मार्फत सार्वजानिक गरेका थिए ।

उनको अडियो रेर्कड सुरक्षीत रहेको छ । पक्राउ परेका युवाद्धय अनुसन्धान विभागमा नपठाई सम्मान पुर्वक छोडेको पुष्टि भएपछि घट्नाको रहस्य बाहिर आएको हो ।

पक्राउ परेका रविन घोष र मनोज राजवशी नेपाली काग्रेसका कार्यकर्ता हुन । पक्राउ पर्नुअघि सशस्त्र प्रहरीलाई समेत थाहा थिएन कि उनीहरुलाई काग्रेस नेताले संरक्षण गर्दै आइरहेका थिए भनेर ।

पक्राउ परेलगतै नेपाली काग्रेसका कार्यकर्ताले सबैतिर फोन घुमाउन थालेका थिए । युवक रविन नेपाली काग्रेस कृष्णप्रसाद सिटौला निकट कार्यकर्ताका भाई हुन् । उनका दाजु प्रविणकुमार घोष (प्रविर) हुन् ।

प्रविर, सिटौला पक्षको नजिकको कार्यकर्ता हुन् । भाई रविन पक्राउ पर्दा दाजु प्रविर काठमाण्डौ थिए । प्रविरले नै सिटौलालाई भेटेर भाई पक्राउ परेको घटना सुनाएपछि सिटौलाले गृहमन्त्री विमलेन्द्र निधीललाई भेटेर त्यहीबाटै सशस्त्र प्रहरी बलका आइजी सिहबहादुर श्रेष्ठलाई दवाव दिएपछि छाडन आदेश दिएको प्रशानस स्रोतको दावी छ ।

आइजीलाई गृहमन्त्रीको फोन आएपछि सशस्त्र प्रहरी बल संगठनले पूर्व क्षेत्रीय कार्यालय र सीमा सुरक्षा कार्यालय भद्रपुरमा फोन गरेर तुरुन्त छाडन आदेश दिएका थिए । आइजीले नै छाडन आदेश दिएपछि सीमा सुरक्षा कार्यालय झापाका एसपी आनन्द नेम्बाङ्गले अनुसन्धान नगरी छाडेको स्रोतको दावी छ । भारू नोटमा पक्राउ परेका युवाको विषयमा एसपी नेम्बाङ्गले सवै कुरा कानुन मात्र हेरेर हुदैन सीमा क्षेत्रमा व्यवहारिक्ता पनि हर्नु पर्ने जवाफ दिए । कागजपत्र सवै ठीक देखिएकोेले तिन– चार लाख मात्र रकम रहेकोले छोड्न मिल्ने भएर छाडिएको उनको भनाई छ ।

पक्राउ परेका र बरामद गरिएका सवै केहि दिन अघि छाडिएको उनले जानकारी दिए । वरामद गरिएका नोट नेपालमा प्रतिबन्धीत भएको नेपाल राष्ट्र बैकंले जनाएको छ । राष्ट बैक विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार भारतीय पाँच सय, एक हजार र दूई हजारको नोट पूर्ण रुपमा नेपालमा प्रतिबन्धित रहेकोले कानुन बमोजिम नै कार्वाही हुने जनाएको छ ।

मानिस र मुद्रालाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि अनुसन्धान विभागमा पठाउनु पर्ने पहिलो काम प्रहरीको भएको एक प्रहरी अधिकृतले बताए । विदेशी मुद्रा र मानिसलाई शसस्त्र प्रहरीले पक्राउ गरेको केहि दिन पछि छाडेको वुझिन आएकोले त्यो गलत भएको ति अधिकृतको भनाई छ ।

नेपाल राष्ट्र वैकले तोकेको रकमको सीमा र अनुमती दिएका रुपैया भन्दा बढी बोक्न नपाइने राजस्व अनुसन्धान विभाग पुर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीका मुद्धा फाँटका कर्मचारी नरेश शाहले बताए । विदेशी मुद्रा र मानिसलाई अनुसन्धान कार्यालयले छानविन गरी नियम विपरित देखिएमा विदेशी विनिमय नियम २०२० अनुसार कारवाही हुने शाहको भनाई छ ।

प्रहरीले बरामद गरेका विदेशी मुद्रमा फैसला गर्ने कुनै अधिकार नभई अनुसन्धान गर्ने निकायमा पठाउनु पर्ने राजस्व अनुसन्धान विभागकाका महानिर्देशक रामकृष्ण सुवेदीले बताए ।

रुपैया र मानिसलाई अनुसन्धान विभागमा पठाउने र विभागले अनुसन्धान गरी निचोडमा पुर्याउने काम गर्ने महानिर्देशक सुवेदीको भनाई छ । मानिस र रकम नियन्त्रणमा लिएपछि प्रहरीले छाड्न नमिल्ने उनले बताए । विदेशी मुद्रको विषयमा विदेशी विनीमय नियमित गर्ने ऐन २०१९मा स्पष्ट रहेको उनको भनाई छ ।