जनकपुरधाम/ सौतेनी आमाले छोरालाई मारेर सेफ्टी ट्यांकीमा फालेको अवस्थामा शव भेटिएको छ।

जनकपुर उपमहानगरपालिका १४ मुजेलिया निवासी श्रीप्रसाद राउतका ६ बर्षीया छोरा केशर राउत शनिवार घरको शौचालयको सेफ्टी ट्यांकीमा मृत अवस्थामा फेला परेपछि विभत्स हत्याको रहस्य खुलेको हो ।

चैत्र ३१ गते बिहानैदेखि हराइरहेका केशरको शव प्रहरीले घरकै सेफ्टी ट्यांकीबाट कुहिएको अवस्थामा निकालेको हो । बालकको शरीरमा धेरै निलडाम रहेकाले हत्याअघि निर्मम कुटपिट भएको अनुमान प्रहरीको छ ।

केशर हराएको दुई दिनपछि पनि फेला नपरेपछि उनका पिता श्रीप्रसादले शनिवार दिउँसो प्रहरीलाई जानकारी गराएका थिए । सूचना पाए लगत्तै पिता श्रीप्रसादसँग सोधपुछ गर्दा उनले घरमा कान्छी श्रीमती रिनादेवी मण्डल मात्र रहेको बेला छोरो हराएको खुलेको थियो ।

उनको वयानपछि प्रहरीले परिवारकै सदस्यमाथि अनुसन्धान सुरु गरेको थियो । धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यका अनुसार रिनासँगको सोधपुछपछि हत्याको रहस्य सार्वजनिक भएको हो ।

‘हामीले रिनालाई पनि सोधपुछ गर्यौँ, उनले खेतमा गएको बेला केशर हराएको बताइन्’ आचार्यले भने, ‘तर, श्रीमान् श्रीमतीको कुरामा फरक आएपछि शंका अझ बढेर घरमै अनुसन्धान केन्द्रीत गर्यौँ ।’