विद्यालयहरुमा २०७३ सालको परीक्षा लगभग अन्तिम भएको छ । वैशाखबाट नयाँ शैक्षिक सत्र शुरु हुँदै छ । अभिभावकमा आफ्ना छोराछोरीलाई कहाँ पढाउने भन्ने चिन्ता थपिएको छ । राम्रो भनेर हालेको स्कुलको गुणस्तर नदेखिँदा झन् पुराना अभिभावक समस्यामा छन् । यस्तो बेला स्वभावैले राम्रो भनेर चिनिएका विद्यालयमा भर्ना हुन खोज्नेहरूको चाप बढी हुन्छ । नयाँ स्कुल, नयाँ ड्रेस, नयाँ पुस्तक अभिभावकका लागि ठूलो बोझ हो । राम्रा भनेर चिनिएका निजी विद्यालयहरुले नयाँ विद्यार्थी छनोटका लागि विज्ञापन दिन थालिसकेका छन् । कलिला नानीहरुलाई विद्यालयमा परीक्षा लिएर छनोट गर्ने संस्कारले नानीहरुमा मनोवैज्ञानिक असर पर्ने गर्दछ । यसले अभिभावकहरुमा समेत तनाव सिर्जना गरेको हुन्छ । सयौँमाझ परीक्षा सामना गर्न लगाएर बालबालिकालाई असफल देखाउनुलाई मनोवैज्ञानिक र व्यावहारिक दुवै दृष्टिले राम्रो मान्न सकिँदैन । अब निजी विद्यालयहरुले विद्यार्थी छनोटको लागि वैज्ञानिक मापदण्ड बनाएर भर्ना गर्नुपर्छ । राम्रो र अन्य विद्यालयभन्दा फरक बन्ने बहानामा विद्यार्थीहरुलाई अनावश्यक पुस्तकको बोझ, ड्रेस, टाई–बेल्टमा व्यापारीसँग कमिसनमा ठेक्कापट्टा गर्नु विद्यालयहरुमा अर्को समस्या हो । सालान्ने पुस्तकका प्रकाशन परिवर्तनदेखि पुस्तक पसल फेर्ने प्रवृत्तिले शैक्षिक क्षेत्र विकृत बन्दै गएको छ । विद्यालयहरुले अभिभावकलाई ‘दुहुनो गाई’ बनाएर शैक्षिक क्रान्ति हुन सक्दैन । विद्यालयहरुले धेरै पुस्तक बोकाउने र घोकाउने विद्या दिएर बालकालिकाको भविष्य उज्ज्वल हुन सक्दैन । उनीहरुलाई व्यावहारिक शिक्षा प्रदान गर्नुपर्छ । विद्यालयहरुको मनपरीविरुद्ध नियमनकारी निकायले अनुगमन गर्नुपर्छ । अभिभावकहरुले पनि विद्यालयका विकृति र शैक्षिक स्थितिबारे खबरदारी गर्नुपर्छ । आप्mना नानी पढ्ने विद्यालयले कस्तो शिक्षा दिइरहेको छ ? उसका खराब र असल पक्षबारे निगरानी राख्नु अभिभावकको दायित्व हो । बालबालिकालाई विद्यालय पठाएर मात्र अभिभावकको दायित्व पूरा हुँदैन । आप्mना नानीले कस्तो शिक्षा लिँदैछ भन्नेमा चासो राख्नुपर्छ ।