धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) र उपप्रमुख अइन्द्रविक्रम बेघाविरुद्ध उनीहरूकै समर्थकहरूले एक–अर्काविरुद्ध नाराबाजी गरेका छन् ।
नगर प्रमुखका समर्थकहरूले उपप्रमुख ‘विकास विरोधी उपमेयर चाहिँदैन । राजनीतिक दलहरू चाहिँदैन’ भन्दैं नाराबाजी गरे । उपप्रमुखलाई तथानाम गालीपछि उनीहरू बाहिरिएलगत्तै उपप्रमुखका समर्थकहरू आएर ‘हर्क साम्पाङ मूर्दावाद’, गैरकानूनी काम गरेर भुक्तानी मिलाएर राज्यको दोहन गर्न पाइँदैन भन्दैं अर्को नाराबाजी गरेर नेकपा (माओवादी केन्द्र) ले उपमहानगर परिसरमा कोणसभासमेत ग¥यो । माओवादी केन्द्रका नगर अध्यक्ष उद्धव लिम्बूले कोणसभामा सम्बोधन गर्दै नगर प्रमुखका समर्थकहरूले उपप्रमुखसहितका जनप्रतिनिधिहरूलाई आफ्ना समर्थकमार्फत् हातपातको प्रयासजस्तो गैरजिम्मेवार काम भएको बताए । समर्थकहरूलाई हातपात गर्न उत्तेजित पार्ने नगर प्रमुखको काम गैरजिम्मेवार भएको उनले बताए ।
यसअघि नगर प्रमुखको कार्यकक्षमै उपप्रमुख बेघालाई घेराउ गर्दै ‘उपप्रमुख हामीलाई चाहिँदैन’, हामीलाई पार्टी चाहिएको होइन, ‘हर्क साम्पाङ त्यतिकै जन्मिएको होइन’ भन्दैं उप्रमुखलाई दुव्र्यवहारको प्रयास गरेका थिए । प्रमुखका समर्थकहरूले आफूलाई हातपात गर्न खोजेको उपप्रमुख अइन्द्रविक्रम बेघाले बताए ।
उपप्रमुख बेघाका अनुसार दिउँसो २ बजे आर्थिक वर्ष २०८२÷०८३ को बजेट सीमा निर्धारणसम्बन्धी बैठकमा प्रमुख साम्पाङलाई पनि बोलाइएको थियो । उनी आएनन्, कर्मचारी र समितिका सदस्यहरूबीच छलफल भइरहेको बेला साढे ३ बजे प्रमुख साम्पाङले उनको कार्यकक्षमा बोलाएको र जाँदा समर्थकहरू बोलाएर आफूमाथि दुव्र्यवहार गरेको उपप्रमुख बेघाले बताए । उपप्रमुख बेघाले भने, ‘प्रमुखको कार्यकक्षमा जाँदा त्यहाँ ममाथि आक्रमण गर्न प्रमुख साम्पाङले आफ्ना समर्थकहरू बोलाएका रहेछन्, भीडले एक्कासि हातपात गर्न खोज्यो ।’
विवादको चुरो चाहिँ प्रमुख साम्पाङको नेतृत्वमा धरान–१६ मा निर्माणाधीन बहुभाषिक पाठशालालाई संरक्षण गर्न भनी श्रमदानबाट काम गराएका थिए । तर उक्त कामको उपमहानगरबाट अनुगमन गरी रकम निकासा गर्न कर्मचारीसहित आफूलाई दबाव दिएको उपप्रमुख बेघाले बताए । उक्त क्षेत्रको कामका लागि उपमहानगरपालिकाले कुनै नीतिगत निर्णय नगरेको कारण आफूले अनुगमन नगर्ने भन्दा प्रमुख साम्पाङले दबाव दिँदै आएको उपप्रमुख बेघाले बताए । रकम निकासाका लागि प्रमुख साम्पाङ एक्लैले निर्णय गरी कर्मचारीलाई समेत दबाव दिएपछि कर्मचारीहरूसमेत समस्यामा छन् ।
‘मैले श्रमदानको नाममा रकम निकासा नगर्न कर्मचारीहरूलाई निर्देशन दिएको कारण आफूमाथि समर्थकहरू बोलाएर दबाव दिइएको हो’–उपप्रमुखले भने । ‘मेयरज्यूले निकासा गर्नू भन्नुहुन्छ । उपमेयरज्यूले हुँदैंन भन्नुहुन्छ । हामी कर्मचारीलाई समस्या छ । उहाँहरू मिलेर काम गरे मात्र निकास निस्कन्छ’–एक कर्मचारीले भने ।
उपमहानगरपालिकाका प्रवक्ता वडा नं. १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) का अनुसार निर्माणाधीन बहुभाषिक पाठशाला निर्माण संयोजक उनकै समर्थक धरान–१४ का प्रसाद राई, सत्य घले, समीर तामाङ रहेको बताए । निर्माण समितिमा सम्बन्धित वडाको वडाध्यक्ष र स्थानीय हुनुपर्नेमा निर्माण समितिमा स्थानीय र वडा नं. १६ का वडाध्यक्ष नराखी आफ्ना समर्थक नै ठेकेदार र निर्माण संयोजक तथा निर्माण समितिमा राखेको उनको भनाइ छ । स्थानीय शासन सञ्चालन ऐनमा जुन वडामा योजना सञ्चालन हुन्छ त्यही वडाको समर्थन, उपभोक्ता समिति निर्माण गर्ने प्रावधान रहेको उनले स्पष्ट पारे । तर वडाबाहिरका व्यक्ति राखेर उपभोक्ता समिति बनाई गैरकानूनीरूपमा साढे सात लाख रुपैयाँ भुक्तानी गर्न दबाव दिएको प्रवक्ता भट्टराईले बताए । बहुभाषिक पाठशालामा गत जेठ १५ आएको बाढीले उक्त क्षेत्रको घेराबारा बगाएर लगेको थियो ।
यता नगर प्रमुख साम्पाङले उपप्रमुखलाई दुव्र्यवहार गरेपछि भने ‘हाम्रो आन्तरिक विषय हो । हामी आफै मिलाउँछौँ तपाईंहरू जानू’ भनेर समर्थकहरूलाई पठाएका थिए । समर्थकहरू भने तपाईंलाई अप्ठ्यारो पार्नेलाई हामी छाड्दैनौं भन्दै बाहिरिएका थिए । प्रमुख साम्पाङका समर्थकहरूले सरकारी लगानी बचाएर विभिन्न दाताहरूबाट काम गराउँदा पार्टीहरूलाई नपचेको आरोप लगाएका छन् । नगर प्रमुखका समर्थकहरूले धरान बङ्गलादेश बन्ने चेतावनीसमेत दिएको उपप्रमुख बेघाले बताए । नेतृत्व गर्ने व्यक्तिले सबैसँग सहकार्य गरेर निकास निकाल्नु पर्नेमा उल्टै हप्काएर, थर्काएर र पेलेर धरान चलाउन खोजेको उपप्रमुखको भनाइ छ ।
