विराटनगर/ विराटनगरमा हालै सम्पन्नभएको मिस पूर्वेली सुपर मोडल २०७३ निष्पक्ष नभएको ६ जना प्रतियोगिहरुलेआरोप लगाएका छन्।

विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी उनीहरुले यस्तो आरोप लगाएका हुन । ए–वान इन्टरटेन्टमेन्टले वीगत पाँच वर्षदेखी आयोजना गर्दै आएको प्रतियोगिता छैठौं संस्करणमा आईपुग्दा निष्पक्ष नभएको उनीहरुको भनाई छ ।

प्रतियोगिताको फाइनलमा पुगेका रुचिका गनेस, नानु वाईबा, सविता खड्का, आस्मा देव, पेक्षा सापकोटा र सिमी खानले निष्पक्ष नभएको भन्दै पत्रकार सम्मेलन गरेका थिए । उनीहरु मध्ये वाईबा मात्र टप पाँचमा पुग्न सफल भएकी थिईन ।

परिचय राउण्ड बिगारेकोलाई टप पाँचमा छनौट गरेर उत्कृष्ट प्रतिभा देखाउनेलाई पाखा लगाएको टपटेनमा पुगेकी रुचिका गनेशले बताइन्। उनीहरुले ब्यूर्टी प्याजेन्ट पारदर्शी गर्नुपर्ने माग समेत गरेका छन् ।

यता आयोजक संस्थाका निर्देशक निराजन लुइँटेलले प्रतियोगिले लगाएको आरोपमा कुनै सत्यता नरहेको दावी गरेका छन । छैठौं संस्करणको प्रतियोगिता यस क्षेत्रका विज्ञलाई निर्णायक राखेर निष्पक्ष र पारदर्शी गरिएको लुईटेलले दाबी गरे ।

प्रतियोगिताको निर्णायकहरुमा नायिका रीमा विश्वकर्मा, फेशन डिजाइनर उत्तम बनेपाली, नायक विनय श्रेष्ठ तथा नायिका रेष्मा घिमीरे लगायत रहेका थिए ।

शुक्रबार साँझ स्थानिय वीरेन्द्र सभागृह हलमा सम्पन्न भएको मिस पूर्वेली सुपर मोडलको उपाधि सुनसरीको इनरुवाकी सोनिया प्रधानले जितेकी थिइन् ।

केहि दिन अघि विराटनगरमै सम्पन्न मिस कोशी प्रगियोगिता पनि विवादमा तानिएको थियो । सो प्रतियोगितामा सहभागि युवतीले सिडिओ कार्यालयमा विजेता वन्न पैसा मागिएको व्यहोरा सहितको लिखित उजुरी नै गरेका थिए ।