काठमाडौं/ एक हास्य जोडीले आफ्नो कर्म बदल्छन् । टेलिभिजनको पर्दामा रमाइरहेका उनीहरु त्यस्तो बस्तीमा पुग्छन्, जसलाई विपत्तिले खर्लप्पै निलेको छ । त्यही बस्तीको मुहार उजिल्याउने हुटहुटीसँगै उनीहरुको कथामा ‘ट्वीस्ट’ आउँछ ।
अन्ततः जन्म हुन्छ, धुर्मुस–सुन्तली फाउन्डेसनको ।
सीताराम कट्टेल र कुञ्जना घिमिरे अर्थात् धुर्मुस–सुन्तली यसका अभियन्ता हुन् । हास्य शृंखला ‘मेरी बास्सै’ मा स्त्रिन सेयर गर्दागर्दै अफस्त्रिन दाम्पत्य सम्बन्ध जोडेका यो जोडी ‘रोल मोडल’ को रुपमा देखापरेका छन् । भूकम्पले तहसनहस बस्ती ठड्याउन निस्किएका उनीहरु अहिले महोत्तरीको मुसहर बस्तीमा पुगेका छन् ।
यो त्यही बस्ती हो, जहाँका पुस्तौं–पुस्ता झुपडीमा गुज्रिए ।
न उनीहरुले आफ्नो आँगनमा धारा देखे, न शौचालाय । न विद्यालय देखे, न स्वास्थ्य चौकी । ४२ डिग्रीको टन्टलापुर घामबाट ओत लग्ने गतिलो छानो भएन । न त न्यूनतम ५ डिग्री सेल्सियसको शीतलहरबाट जोगिने न्यानो पर्खाल नै ।
स–साना झिक्रामा हिले माटो लिपिएको झुपडीमा खुम्चिएका उनीहरुले कहिल्यै उज्यालो क्षितिज देख्न पाएनन् । तर, एक जुगमा एकदिन एकचोटि आउँछ । यी निमुखा सदा परिवार त्यही दिनको अधैर्य प्रतीक्षामा छन् ।
अब भित्तामा नेपाली पात्रो फेरिएसँगै मुसहर बस्तीमा नयाँ युगको उदय हुनेछ । उनीहरु नयाँ घरमा भित्रिनेछन्, ०७४ साल बैशाख १ गते ।
एउटा ठूलो कम्पाउन्ड । ५० वटा उस्तै बान्कीका घर । एक सामुदायिक भवन, बाल उद्यान, चौतारो, धारा, शौचालय । झुपडीबाट यो एकीकृत नमुना बस्तीमा सरेसँगै मुसहर समुदाय खुसीले रमाउनेछन् ।
यही उचाइमा पुगेर धुर्मुस–सुन्तली फाउन्डेसनले थालेको एकिकृत नमुना बस्ती निर्माण अभियानको ‘ह्याप्पी इन्डिङ’ हुनेछ ।
‘सम्भवत बस्ती बनाउने कामको बिट मारिनेछ’ धुर्मुस अर्थात् सीताराम कट्टेल भन्छन्, ‘किनभने त्यसपछि हामी अलि फरक ढंगले अगाडि बढ्नेछौं ।’
जब मरनी सदा मुस्कुराउँछिन्
उमेरको उकालोमा १ सय ५ वर्ष काटेकी मरनी सदाका पाइला नयाँ घरभित्र प्रवेश गर्नेछ, उनको ओठमा दुर्लभ खुसी छचल्किनेछ । त्यही खुसी हो, धुर्मुस–सुन्तलीले देख्न चाहेको ।
स्टेजमा उभिएर अरुको नक्कल गर्दा, मुखाकृत बंग्याउँदा, थरीथरीका आवाज निकाल्दा पनि त दर्शक खुसी हुन्थे । उनीहरुमा हाँसोको फोहोरा छुट्थ्यो । घत मानेर ताली पिट्थे । तर, मरनी सदाको हाँसो र खुसी त्योभन्दा कता हो कता भिन्न हुनेछ ।
‘हामीले जुन दिन मुसहर बस्ती टेक्यौं, त्यसबेलाको अवस्था दुःखलाग्दो थियो’ सीताराम सम्झन्छन्, ‘उमेर नपुग्दै बच्चा जन्माएकाहरु, खान नपाएर कुपोषणले ग्रस्त भएकाहरु, बेरोजगारहरु, अशिक्षितहरु, रोगीहरु थिए ।’ एक परियोजना अन्र्तगत टेलिफिल्म दृश्यांकन गर्न पुग्दा धुर्मुस–सुन्तलीले मुसहरहरुको वास्तविकता देखेका थिए । ‘उनीहरुको जीवनशैली साह्रै विरक्तलाग्दो थियो’ सीताराम भन्छन्, ‘उकुसमुकुस हुने ।’ अहिले त्यसको स्वरुप फेरिँदो छ ।
धुर्मुस–सुन्तली पुगेपछि नै हो, मुसहरको आँगनमा धारा बनेको । आफ्नै घर अघिल्तिर यसरी पानी र्झछ भनेर उनीहरुले सायदै कल्पना गरेका थिए । जुन दिन बस्तीमा पानीको धारो बन्यो उनीहरुमा खुसीको सीमा रहेन ।
यस्तै खुसी काभ्रेका पहरी बस्तीमा छचल्किएको थियो, सिन्धुपाल्चोकको गिरान्चौरमा पोखिएको थियो । ‘उनीहरुको अनुहारमा देखिएको खुसीले हृदयमा स्पर्श गर्छ’ सीताराम भन्छन्, ‘नेताको फुस्रो आश्वासनले थेत्तर भएको समाजमा त्यस्तो खुसी सायदै मिल्छ ।’