काठमाडौं/ भारतको तामिलनाडु राज्यका व्यापारीहरुले कोकाकोला र पेप्सीको बिक्रीमा बुधबारबाट रोक लगाएका छन् ।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न यो कदम चालिएको उनीहरुको भनाइ छ ।

राज्यका व्यापारीहरुको दुई मुख्य संगठनका तर्फबाट यो प्रस्ताव आएको थियो ।

ती संगठनका अनुसार सफ्ट ड्रिंक कम्पनीहरुले नदीबाट भारी मात्रामा पानीको दोहन गर्छन्, जसका कारण सुख्खा समयमा पानीका लागि किसानहरुले समस्या भोग्नुपर्छ । राज्यका १० लाखभन्दा बढी पसलहरुले यो प्रतिवन्धको पालना गर्ने अनुमान गरिएको छ ।

डियन वेभरेज एसोसिएसन ९आइबीए०ले प्रतिवन्धलाई लिएर निराशा व्यक्त गरेको छ । सफ्ट ड्रिंक्सका बढिजसो उत्पादकहरुको प्रतिनिधित्व गर्ने यस संस्थाले यो प्रतिवन्ध उच्च आर्थिक विकासको आधारभूत सिद्धान्तको विरुद्ध रहेको टिप्पणी गरेको छ ।

उसले भनेको छ, ‘तामिलनाडुमा कोकाकोला र पेप्सी इन्डिया मिलेर दुई हजार परिवारलाई रोजगारी दिएका छन् । आइबीएलाई आशा छ कि उपभोक्तालाई छनोटको अधिकारबाट वञ्चित गरिने छैन ।’

व्यापारीहरुका दुई मुख्य संगठन फेडरेसन अफ तामिलनाडु ट्रेडर्स एसोसिएसन्स (एफटीएनटीए) र तामिलनाडु ट्रेडर्स एसोसिएसन्स फोरम (टीएनटीएएफ) ले सुपरमार्केट, रेस्टुरेन्ट र होटलहरुलाई प्रतिवन्धको कार्यान्वयन गर्न र स्थानीय व्यवसाय तथा किसानहरुलाई मद्दत गर्न अपिल गरेका छन् ।

राज्यका करिब ७५ प्रतिशत खुद्रा व्यापारीले प्रतिवन्धको पालना गरेको बताइएको छ । यसबाट राज्यमा पेप्सी र कोकाकोलाको ४ अर्ब रुपैयाँको वार्षिक कारोबार प्रभावित भएको छ ।

हाल तामिलनाडुका जनतालाई प्रतिवन्धको कस्तो असर पर्छ र उनीहरुसँग विकल्प के छ भन्ने प्रश्न उठेको छ ।

स्थानीय पत्रकार केवी लक्ष्मणका अनुसार पेप्सी र कोकको विकल्प नरिवल पानी हुनसक्छ, जसको तामिलनाडुमा कुनै कमि छैन । यसका अलावा तामिलनाडुसहित दक्षिण भारतमा एक स्थानीय कोल्ड ड्रिंक पनि निकै लोकप्रिय छ ।